सात फरार प्रतिवादी पक्राउ
जनकपुरधाम, ०१ असोज । धनुषा प्रहरीले अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका ७ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
धनुषा जिल्ला अदालतको फैसला कार्यान्वयनअन्तर्गत विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय तोकिएका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय धनुषा तथा मातहतका प्रहरी टोलीले खोजतलास गरी पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमध्ये एक जना लागुऔषध मुद्दामा ११ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएका व्यक्ति छन् ।
त्यस्तै, लुटपिट मुद्दामा सजाय तोकिएका पाँच जनाबाट १७५ रुपैयाँदेखि ७३६ रुपैयाँसम्म जरिवाना असुल गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
यस्तै, नागरिकता मुद्दामा २ वर्ष ६ महिना कैद सजाय तोकिएका एक जनालाई समेत प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ गरिएका सबै ७ जना फरार प्रतिवादीलाई आवश्यक कानुनी कारबाहीका लागि धनुषा जिल्ला अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार अदालतबाट फैसला भई कैद तथा जरिवाना तोकिएपछि फरार रहेका प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइएको छ ।


