बाढीपीडितका लागि साउथ प्वाइन्ट स्कूल परिवारको १ लाख ५१ हजार सहयोग
जनकपुरधाम, ०१ असोज । रसुवामा गएको बाढीबाट प्रभावित तथा पीडित परिवारको सहयोगका लागि धनुषास्थित साउथ प्वाइन्ट इङ्लिस बोर्डिङ्ग स्कूल परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ ।
विद्यालयमा कार्यरत शिक्षक, शिक्षिका तथा कर्मचारीहरुले आफ्नो तर्फबाट ७५ हजार ५ सय रुपैयाँ र विद्यालय परिवारको तर्फबाट थप ७५ हजार ५ सय रुपैयाँ गरी कुल १ लाख ५१ हजार रुपैयाँ सहयोग गरिएको हो ।
बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री राहत कोषमा प्रदान गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयका प्रिन्सिपल अजय यादवले सहयोग गर्ने शिक्षक, शिक्षिका तथा कर्मचारीसहित सम्पूर्ण विद्यालय परिवारप्रति धन्यवाद ज्ञापन गरेका छन् ।
विपद्को समयमा पीडितलाई सहयोग गर्नु सामाजिक दायित्व भएको भन्दै विद्यालयले यस्ता मानवीय कार्यमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।


