धनुषाका १२ पालिकाको आर्थिक खाता अझै बन्द, बजेट कार्यान्वयनमा अन्योल
जनकपुरधाम, ०१ असोज । आर्थिक वर्ष २०८३/८४ सुरु भएको दुई महिना बितिसक्दा पनि धनुषाका १८ स्थानीय तहमध्ये १२ वटा पालिकाको आर्थिक खाता सञ्चालनमा आउन सकेको छैन ।
कोष तथा लेखा नियन्त्रक कार्यालय धनुषाका अनुसार भदौ ३१ गतेसम्म जिल्लाका ६ वटा स्थानीय तहको मात्रै खाता सञ्चालनमा आएको छ ।
खाता सञ्चालन भएका स्थानीय तहमा जनकपुरधाम उपमहानगरपालिका, गणेशमान चारनाथ नगरपालिका, लक्ष्मीनियाँ गाउँपालिका, जनकनन्दनी गाउँपालिका, धनौजी गाउँपालिका र औरही गाउँपालिका रहेका छन् ।
कार्यालयका अनुसार बाँकी पालिकाले खाता सञ्चालनका लागि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गर्न नसकेकाले आर्थिक खाता सञ्चालनमा आउन सकेको छैन ।
स्थानीय तहको आर्थिक खाता सञ्चालनका लागि गाउँसभा वा नगरसभाबाट बजेट पारित, विनियोजन ऐन, अख्तियारी, स्वीकृत वार्षिक कार्यक्रम तथा जिन्सी निरीक्षणलगायत प्रक्रिया पूरा गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, बाँकी पालिकाले ती प्रक्रिया पूरा नगरेका कारण खाता सञ्चालनमा ढिलाइ भएको कार्यालयले जनाएको छ ।
खाता सञ्चालन हुन नसकेका नगरपालिकामा मिथिला, क्षिरेश्वरनाथ, मिथिला बिहारी, धनुषाधाम, कमला, नगराइन, हंसपुर, सबैला, शहिदनगर र विदेह नगरपालिका रहेका छन् । त्यस्तै, बटेश्वर र मुखियापट्टी मुसहरनिया गाउँपालिकाको आर्थिक खातासमेत सञ्चालनमा आउन सकेको छैन ।
आर्थिक वर्ष सुरु भएको लामो समयसम्म खाता सञ्चालनमा नआउँदा ती स्थानीय तहका बजेट कार्यान्वयन, योजना सञ्चालन तथा भुक्तानी प्रक्रियामा समेत असर पर्ने देखिएको छ । स्थानीय तहले आवश्यक प्रक्रिया पूरा गरेपछि मात्रै आर्थिक कारोबार सञ्चालन गर्न सक्ने कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।


