अध्यक्षले काटे प्रमुख प्रशासकीय अधिकृतको हाजिरी
सर्लाही, ०१ असोज । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच कार्यालय उपस्थितिको विषयलाई लिएर विवाद चर्किएको छ । गाउँपालिका अध्यक्ष राजकुमार महतोले प्रमुख प्रशासकीय अधिकृत जयकिशोर साहको हाजिरी काटेका छन् ।
अध्यक्ष महतोले प्रमुख प्रशासकीय अधिकृत साह चालु आर्थिक वर्ष सुरु भएयता नियमित रूपमा कार्यालयमा उपस्थित नभएको आरोप लगाउँदै बुधबार उनको हाजिरी काटेका हुन् ।
अध्यक्ष महतोका अनुसार साउन महिनामा साहको हाजिरी सात दिन मात्र रहेको छ । बाँकी दिनको हाजिरीमा ‘काठमाडौं काज’ उल्लेख गरिएको उनले बताए ।
‘यो हाम्रो कार्यकालको अन्तिम वर्ष हो । जनताका काम छिटो गर्नुपर्ने बेला प्रमुख प्रशासकीय अधिकृत नियमित रूपमा कार्यालयमा उपस्थित हुनुभएको छैन,’ अध्यक्ष महतोले भने ।
उनले गत आर्थिक वर्ष गाउँ गौरव आयोजनाका लागि विनियोजन गरिएको ९ करोड ४० लाख रुपैयाँ बजेट कर्मचारीकै कारण खर्च हुन नसकेर फ्रिज भएको आरोपसमेत लगाए ।
तर, प्रमुख प्रशासकीय अधिकृत साहले भने आफू नियमित रूपमा कार्यालय नआएको भन्ने आरोप अस्वीकार गरेका छन् । उनले अध्यक्षसँगको विवाद असार मसान्तदेखि नै सुरु भएको बताए ।
साहका अनुसार भदौ १० गते गाउँसभा सम्पन्न भए पनि बजेट तथा कार्यक्रम कानुनबमोजिम प्रमाणित नगरिएको विषयमा आफ्नो असहमति छ ।
‘गाउँसभा सम्पन्न भएको १५ दिनभित्र बजेट प्रमाणित गरी प्रमुख प्रशासकीय अधिकृतसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ,’ साहले भने, ‘त्यसपछि मात्रै अख्तियारी प्राप्त हुने र योजना कार्यान्वयन प्रक्रिया अघि बढ्ने हो ।’
प्रमुख प्रशासकीय अधिकृत साहले बजेटमा प्रशासनिक खर्च कटौती गरिएको तथा बजेट तर्जुमा गर्दा कानुनी दिग्दर्शन पालना नगरिएको भन्दै अध्यक्षलाई ज्ञापनपत्रसमेत बुझाएको बताए ।
आफू कार्यालयमा अनुपस्थित रहेको आरोप पनि उनले अस्वीकार गरे । स्वास्थ्यमा समस्या भएका कारण केही समय नियमित रूपमा कार्यालयमा उपस्थित हुन नसकेको स्वीकार गर्दै साहले भदौ २४ र २५ गतेसम्म कार्यालयमा उपस्थित भएको दाबी गरे ।
अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच देखिएको विवाद समाधानका लागि बुधबार जिल्ला प्रशासन कार्यालय सर्लाहीमा छलफल भएको थियो । छलफलपछि गाउँपालिकाको कार्यपालिका बैठक बोलाएर विवाद समाधानको पहल गर्ने निर्णय भएको जनाइएको छ ।


