सिरहा, २५ भदौ । सिरहाको मिर्चैया नगरपालिका–१२ सिक्रोनमा प्रहरीले लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित चार जनालाई पक्राउ गरेको छ ।

लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मिर्चैया र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

सिक्रोनस्थित नहरमा शंकास्पद अवस्थामा रहेका चार जनालाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा मिर्चैया–१२ का २४ वर्षीय दीपक सहनीले लगाएको जिन्स पाइन्टको बायाँ खल्तीमा लुकाइराखेको स्टिलको बट्टाबाट ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बट्टासहित उक्त पदार्थको तौल १५ ग्राम २२० मिलिग्राम रहेको छ । बट्टाको तौल घटाउँदा पदार्थको तौल ८ ग्राम ५६० मिलिग्राम रहेको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट चार थान मोबाइल र २ हजार ५ सय रुपैयाँ नगदसमेत बरामद भएको छ ।

पक्राउ पर्नेमा दीपक सहनीसहित २० वर्षीय सुनिल कापर, २५ वर्षीय सरोज कापर र २२ वर्षीय पप्पु कापर रहेका छन् । उनीहरू सबै मिर्चैया नगरपालिका–१२ सिक्रोनका स्थानीय रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय मिर्चैयामा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।