बाढीपीडितका लागि बटेश्वरले २० लाख ३० हजार दिने
जनकपुरधाम, २५ भदौ । धनुषाको बटेश्वर गाउँपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै तिब्बत–नेपाल सीमा क्षेत्रबाट भोटेकोशी नदी हुँदै आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको हो ।
बाढीमा परी ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै गाउँपालिकाले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । साथै, विपद्मा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित नागरिकको तत्काल उद्धार, सुरक्षित पुनर्स्थापना र जनजीवनलाई सामान्य अवस्थामा फर्काउन आवश्यक सहयोगको कामना गरेको छ ।
राष्ट्रिय विपत्तिको यस कठिन अवस्थामा पीडितलाई सहयोग गर्नु सरकार, नागरिक समाज, निजी क्षेत्र, विभिन्न संघसंस्था तथा आम नागरिक सबैको मानवीय दायित्व भएको गाउँपालिकाले जनाएको छ ।
सहानुभूतिमा मात्र सीमित नभई राहत, उद्धार र पुनर्स्थापनाका लागि सहयोग, समन्वय र सहकार्य आवश्यक रहेको भन्दै बटेश्वर गाउँपालिकाले आफूले पनि विपद् प्रभावित नागरिकको सहयोगका लागि आवश्यक कदम चाल्ने जनाएको छ ।
गाउँपालिकाले बाढीपीडितलाई राहत तथा पुनर्स्थापनामा योगदान पुर्याउने उद्देश्यले २० लाख ३० हजार ५५४ रुपैयाँ सहयोग गर्ने निर्णयसमेत गरेको जनाएको छ ।



