पर्सा, २५ भदौ । पर्सामा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जना वृद्धलाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले पटेर्वासुगौली गाउँपालिका–४ भथौरास्थित एक घरमा खानतलासी गरेको थियो ।

खानतलासीका क्रममा घरभित्र लुकाइछिपाइ राखिएको गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घरधनी ७० वर्षीय दुःखी महतोको घरबाट प्लास्टिकसहित १८ किलो ४ सय ग्राम गाँजा फेला परेको थियो । प्लास्टिकको तौल घटाउँदा १७ किलो ७ सय ग्राम गाँजा रहेको प्रहरीले जनाएको छ ।

गाँजासहित महतोलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।