हिमाल, पहाड र तराईबाट चुनाव जितेर प्रधानमन्त्री बन्ने आफू मात्रैः प्रचण्ड
सिरहा, २५ भदौ । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका हिमाल, पहाड र तराई सबै भूगोलबाट चुनाव जितेर प्रधानमन्त्री बन्ने आफू एक्लो नेता भएको दाबी गरेका छन् ।
सिरहामा आयोजित पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफ्नो राजनीतिक यात्राका क्रममा विभिन्न भूगोलबाट निर्वाचन जितेको उल्लेख गर्दै यसलाई आफ्नो राजनीतिक जीवनको विशिष्ट रेकर्ड भएको बताए ।
उनले राजधानी, रोल्पा, सिरहा, चितवन, गोरखा हुँदै पछिल्लो पटक रुकुम पूर्वबाट समेत निर्वाचित भएको स्मरण गरे । हिमाल, पहाड, मधेश र तराईका विभिन्न क्षेत्रबाट निर्वाचित भएर प्रधानमन्त्री बन्ने अवसर आफूले मात्र पाएको उनको दाबी थियो ।
देशमा अहिले आधा दर्जनभन्दा बढी पूर्वप्रधानमन्त्री रहे पनि पछिल्लो निर्वाचनमा निर्वाचित हुने पूर्वप्रधानमन्त्री आफू मात्रै भएको प्रचण्डले बताए । चुनाव जित्ने मामिलामा आफू भाग्यमानी रहेको उनको भनाइ थियो ।
सिरहामा चर्को गर्मीका बीच प्रशिक्षण कार्यक्रममा ठूलो संख्यामा कार्यकर्ता सहभागी भएपछि प्रचण्डले उत्साह व्यक्त गरे । पार्टीप्रति जनताको विश्वास र कार्यकर्ताको उत्साह कम भएको चर्चा भइरहेका बेला कार्यक्रममा देखिएको उपस्थितिले आफू उत्साहित भएको उनले बताए ।
प्रचण्डले सिरहासँग आफ्नो राजनीतिक सम्बन्ध लामो समयदेखिको रहेको पनि स्मरण गरे । पञ्चायतविरोधी आन्दोलन, जनयुद्धको तयारी र शान्ति प्रक्रियादेखि नै सिराहासँग आफू जोडिएको उल्लेख गर्दै उनले दोस्रो संविधानसभा निर्वाचनमा सिराहा क्षेत्र नम्बर ५ बाट निर्वाचित गराएर आफूलाई दोस्रोपटक प्रधानमन्त्री बन्ने अवसर दिएको भन्दै सिरहावासीप्रति आभार व्यक्त गरे ।
सम्बोधनका क्रममा प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि धारणा राखे । संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि नयाँ संघर्ष सुरु भएको दाबी गर्दै उनले भदौ २४ गतेको घटनालाई नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा ‘कालो दिन’का रूपमा पार्टीले लिएको बताए ।
उनका अनुसार उक्त दिन सिंहदरबारलगायत ऐतिहासिक संरचना, सरकारी तथा सुरक्षा निकायका कार्यालय, पार्टी कार्यालय र महत्वपूर्ण दस्ताबेजमा तोडफोड तथा आगजनीका घटना भएका थिए । उनले यसलाई संविधान र राष्ट्रिय स्वाधीनताविरुद्धको प्रतिक्रान्तिकारी षड्यन्त्रका रूपमा व्याख्या गरे ।
भदौ २३ गते भएको प्रदर्शन सुरुमा भने सकारात्मक रहेको प्रचण्डको भनाइ थियो । भ्रष्टाचारविरुद्ध, सुशासनको पक्षमा र सञ्चारमाथिको प्रतिबन्धविरुद्ध युवाहरूले सुरु गरेको आन्दोलन दिउँसोसम्म शान्तिपूर्ण रहेको उनले बताए ।
तर, दिउँसोपछि आन्दोलनले हिंसात्मक रूप लिएको र बाह्य घुसपैठका कारण मानवीय क्षति हुने अवस्था सिर्जना भएको प्रचण्डले दाबी गरे । काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर युवाहरूले सुरु गरेको आन्दोलनमा पछि घुसपैठ भएको उनको आरोप थियो ।


