जनकपुरधाम, २५ भदौ । धनुषाको धनौजी गाउँपालिकामा सडक निर्माणका क्रममा कामै नगरी नक्कली कागजात तयार गरी सरकारी रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले आर्थिक वर्ष २०७८/७९ मा प्रदेश सरकारबाट हस्तान्तरित बजेटअन्तर्गत सञ्चालित गौरदाहादेखि लखौरीसम्मको सडक निर्माण योजनामा अनियमितता गरी २६ लाख ६४ हजार ६ सय २४ रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको छ । आयोगले बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

अख्तियारका अनुसार सडक योजनाको बोलपत्र आह्वान तथा आशयको सूचना राष्ट्रिय दैनिकमा अनिवार्य रूपमा प्रकाशन गर्नुपर्ने भए पनि सूचना लुकाउने उद्देश्यले गाउँपालिकाका कर्मचारी र सञ्चारमाध्यमका सञ्चालकबीच मिलेमतो भएको पाइएको छ ।

सूचना प्रकाशित नै नगरी गाउँपालिकाको अभिलेखमा राख्नका लागि ‘जनकपुर टुडे’ राष्ट्रिय दैनिकको नक्कली प्रति तयार पारिएको र त्यसबापत २ लाख ४९ हजार ५ सय ४ रुपैयाँ भुक्तानी लिने–दिने कार्य भएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।

त्यस्तै, निर्माणस्थलमा कुनै भौतिक काम नभए पनि झुट्टा प्राविधिक बिल, नापी किताब र कार्य सम्पन्न प्रतिवेदन तयार पारेर निर्माण व्यवसायी ‘साइन कन्ट्रक्सन’लाई २४ लाख १५ हजार १ सय २० रुपैयाँ भुक्तानी दिइएको अख्तियारको आरोप छ ।

भ्रष्टाचारमा संलग्न भएको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरी र लेखापाल राधेश्याम रायविरुद्ध जनही २६ लाख ६४ हजार ६ सय २४ रुपैयाँ बिगो कायम गरिएको छ । उनीहरूविरुद्ध बिगो बराबर जरिवाना र कैद सजायको मागदाबी गरिएको आयोगले जनाएको छ ।

यस्तै, खरिदार अरुणकुमार यादव, तत्कालीन शिक्षा शाखा प्रमुख अनिलकुमार साहु र सि.अ.हे.व. उमेश साहविरुद्ध जनही २४ लाख १५ हजार १ सय २० रुपैयाँ बिगो कायम गरी सजाय माग गरिएको छ ।

निर्माण व्यवसायी तथा प्राविधिकतर्फ साइन कन्ट्रक्सनका प्रोप्राइटर विकासप्रसाद यादव, एसकेवाइ इन्जिनियरिङ एण्ड ट्रेडिङ प्रालिका प्रोप्राइटर रामनारायण साह र असिस्टेन्ट सब–इन्जिनियर शुभाषकुमार महरालाई पनि प्रतिवादी बनाइएको छ । उनीहरूविरुद्ध जनही २४ लाख १५ हजार १ सय २० रुपैयाँ बिगो कायम गरी मुख्य कसुरदारसरह सजाय माग गरिएको अख्तियारले जनाएको छ ।

यसैगरी, सडक योजनाको बोलपत्रसम्बन्धी सूचना प्रकाशनको नक्कली कागजात तयार गरी भुक्तानी लिने कार्यमा संलग्न रहेको आरोपमा अमृत मिडिया प्रालिका प्रोप्राइटर राजेन्द्र यादव तथा जनकपुर टुडे मिडिया ग्रुप प्रालिका प्रधान सम्पादक बृजकुमार यादवलाई पनि प्रतिवादी बनाइएको छ ।

उनीहरूविरुद्ध जनही २ लाख ४९ हजार ५ सय ४ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको मागदाबी गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।