महोत्तरी, २५ भदौ । जिल्ला भूमि समस्या समाधान समिति महोत्तरीले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्दै जग्गा वितरण प्रक्रिया तीव्र बनाउन स्थानीय तहलाई निर्देशन दिएको छ ।

प्रमुख जिल्ला अधिकारी एवं जिल्ला भूमि समस्या समाधान समितिका अध्यक्ष इन्द्रदेव यादवको अध्यक्षतामा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, अमिन, सर्वेक्षक तथा भूमि शाखाका कर्मचारीसँग भएको समन्वय बैठकले भूमिहीनको पहिचान, प्रमाणिकरणदेखि जग्गा वितरणसम्मका कामलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको हो ।

बैठकले वडा तहमा गठन हुन बाँकी भूमि समस्या सहजीकरण समिति तत्काल गठन गर्ने तथा गठन भइसकेका समितिलाई सक्रिय बनाएर भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको पहिचान तथा प्रमाणिकरणको काम तीव्र पार्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी यादवले भूमिहीन नागरिकलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने कार्य सरकारको प्राथमिकतामा रहेकाले स्थानीय तहले आवश्यक समन्वय र सहजीकरण गर्दै कामलाई परिणाममुखी बनाउनुपर्ने बताए ।

त्यस्तै, वडा तहबाट पहिचान तथा प्रमाणिकरण भएका भूमिहीनको विवरण स्थानीय तहले चेकजाँच गरी स्वीकृत गरेर जिल्ला समितिमा पठाउने र वडा अनुसार जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाउने निर्णय भएको छ ।

बैठकले निवेदन दर्ता तथा निस्सा वितरण, लगत संकलन र आवश्यक कागजात व्यवस्थापनको कामसमेत तीव्र गतिमा अघि बढाउन स्थानीय तहलाई आग्रह गरेको छ ।