सप्तरी, २५ भदौ । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको गेटबाहिर प्रसवपीडाले छटपटाइरहेकी एक महिलाले बच्चा जन्माएको घटनाले सरकारी स्वास्थ्य सेवाको पहुँच र अस्पतालको सेवा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ ।

राजविराज नगरपालिका–१४ पर्साहीकी २९ वर्षीया बबिताकुमारी पासवान प्रसवपीडा सुरु भएपछि श्रीमान् हरेराम पासवान र आफन्त महिलासहित उपचारका लागि बुधबार बिहान अस्पताल पुगेकी थिइन् ।

तर, अस्पतालमा आवश्यक परीक्षणका लागि रकम मागिएपछि आफूहरू समस्यामा परेको र अन्ततः अस्पतालबाहिरै बच्चा जन्माउन बाध्य भएको बबिता र उनका श्रीमानको दाबी छ ।

बबिताका अनुसार मंगलबार राति करिब डेढ बजेदेखि प्रसवपीडा सुरु भएको थियो । त्यसपछि परिवारले राति करिब २ बजे उनलाई सिटी रिक्सामा राखेर गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल पुर्याएको थियो ।

अस्पताल पुगेपछि प्रसूति विभागमा रहेका स्वास्थ्यकर्मीले अल्ट्रासाउन्ड तथा रगत र पिसाबलगायतका परीक्षण गर्नुपर्ने बताएका थिए । परीक्षणका लागि करिब २ हजार ५ सयदेखि ३ हजार ४ सय रुपैयाँसम्म लाग्ने जानकारी पाएपछि आफूहरूले तत्काल रकम तिर्न नसक्ने जानकारी गराएको बबिता र उनका श्रीमानको भनाइ छ ।

रातिको समयमा पैसा जुटाउन कठिन भएकाले बिहान रकम तिर्ने र आवश्यक परीक्षण गराउने भन्दै अस्पतालमै राखेर प्रसूति गराइदिन आग्रह गरे पनि सुनुवाइ नभएको उनीहरूको आरोप छ ।

बबिताले यसअघि आफ्ना तीन सन्तान सामान्य रूपमा जन्मिएको र तत्काल परीक्षण गर्न नसकेको बताउँदै भर्ना गरिदिन आग्रह गरेको बताएकी छन् । तर, परीक्षण नगरी प्रसूति गराउन नमिल्ने भन्दै आफूलाई अस्पतालबाट बाहिर पठाइएको उनको दाबी छ ।

अस्पतालबाट बाहिरिएपछि बबिता अस्पतालको गेटनजिकै रहेको एक औषधि पसलअगाडि पुगेकी थिइन् । परिवारका सदस्यले त्यहीँबाट चिकित्सकसँग जाँच गराइदिन आग्रह गरेको र बिहान चिकित्सक आएपछि परीक्षण गराउने आश्वासन पाएपछि केही समय त्यहीँ बसेको उनीहरूको भनाइ छ ।

तर, केहीबेरमै बबिताको प्रसवपीडा झन् बढ्यो । अस्पतालको गेटबाहिरै आफन्त महिलाको सहयोगमा उनी छटपटाउन थालिन् । श्रीमान् हरेराम भने पैसा जुटाउने प्रयासमा बाहिर गएको बताइएको छ ।

अन्ततः बिहान करिब ४ बजेतिर बबिताले अस्पतालको गेटबाहिरै छोरालाई जन्म दिइन् ।

‘पैसा नभएकै कारण श्रीमतीलाई अस्पतालबाट बाहिर निकालियो,’ हरेरामले भने, ‘रकम खोज्न म बाहिर गएको थिएँ । फर्केर आउँदा श्रीमतीले अस्पतालको गेटमै बच्चा जन्माइसकेकी थिइन् ।’

बबिताले पनि आफू प्रसवपीडामा छटपटाइरहेका बेला अस्पतालबाट बाहिरिनुपरेको दाबी गरेकी छन् । बच्चा जन्मिएपछि परिवारले सालनालसहित शिशुलाई लिएर पुनः अस्पताल पुगे पनि तत्काल उपचार र भर्ना गर्न नदिएको उनको आरोप छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको घटनाको भिडियोमा अस्पतालको गेटबाहिर एक महिला प्रसवपीडाले छटपटाइरहेको तथा आफन्तहरूले उनको स्याहार गरिरहेको देखिन्छ । केही समयपछि त्यही स्थानमा उनले बच्चा जन्माएको दृश्यसमेत भिडियोमा देखिन्छ ।

घटना सार्वजनिक भएपछि सरकारी अस्पतालमा विपन्न महिलाले प्रसूति सेवा नपाएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ । घटनामा संलग्न स्वास्थ्यकर्मीमाथि छानबिन गरी दोषी देखिए कारबाही गर्नुपर्ने मागसमेत उठेको छ ।

यता, अस्पताल प्रशासनले भने महिला अस्पतालमा भर्ना नै नगरिएको भन्ने आरोप अस्वीकार गरेको छ ।

अस्पतालका निःशुल्क स्वास्थ्य सेवा कार्यक्रमका फोकल पर्सन मनोज देवले महिला राति करिब २ बजे अस्पताल आएको र प्रारम्भिक जाँचपछि २४ नम्बर बेडमा भर्ना गरिएको दाबी गरेका छन् ।

उनका अनुसार गर्भवती अवस्थामा आवश्यक स्वास्थ्य परीक्षण नगराएको पाइएपछि चिकित्सक तथा स्वास्थ्यकर्मीले थप परीक्षणका लागि प्रयोगशालामा पठाएका थिए । तर, महिला र उनका आफन्त प्रयोगशाला पुगेपछि अस्पतालबाट बाहिरिएको उनको दाबी छ ।

देवका अनुसार बिहान करिब ५ बजे बच्चा जन्मिसकेपछि मात्र परिवार अस्पतालमा फर्किएको थियो । त्यसपछि अस्पतालमै सालनाल काट्ने लगायतको आवश्यक प्रक्रिया पूरा गरिएको उनको भनाइ छ ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रञ्जितकुमार झाले आफूले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियो हेरेपछि घटनाबारे जानकारी पाएको बताए । आफू हाल काठमाडौंमा रहेको बताउँदै उनले घटनाबारे विस्तृत छानबिन गर्न समिति गठन गर्ने तयारी भइरहेको जानकारी दिए ।

मेसु झाका अनुसार आफूलाई प्राप्त प्रारम्भिक जानकारीमा महिला अस्पतालमा प्रसूति गराउन पुगेकी थिइन् । चिकित्सकले आवश्यक प्रयोगशाला परीक्षणका लागि रकम लाग्ने बताएपछि उनी अस्पतालबाहिर निस्किएको र त्यसपछि अस्पतालको गेटबाहिर बच्चा जन्माएको जानकारी आएको छ ।

घटनाले सरकारी अस्पतालमा विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकको स्वास्थ्य सेवामा पहुँचको अवस्थामाथि पनि प्रश्न उठाएको छ ।

विशेषगरी प्रसूति सेवा संवेदनशील र आकस्मिक प्रकृतिको सेवा भएकाले आर्थिक अवस्था कमजोर भएकै कारण कुनै गर्भवती महिलाले उपचारबाट वञ्चित हुनुपर्ने अवस्था आउन नहुने सरोकारवालाहरूको भनाइ छ ।

नेपालमा सरकारी तथा निजी अस्पतालमा विपन्न तथा गरिब नागरिकका लागि निश्चित प्रतिशत शय्या छुट्याउनुपर्ने कानुनी व्यवस्था छ । तर, राज्यकै स्वामित्वमा रहेको अस्पतालको गेटबाहिर एक विपन्न महिलाले प्रसवपीडामा बच्चा जन्माएको दृश्य सार्वजनिक भएपछि उक्त व्यवस्थाको कार्यान्वयनमाथि प्रश्न उठेको छ ।