जनकपुरधाम, २५ भदौ । मधेश प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै पछिल्लो ६ वर्षमा २८ हजार ८३ वटा नयाँ भवन निर्माण गरेको छ ।

प्रदेश सरकारका अनुसार निर्माण भएका संरचनामा विपन्न तथा दलित परिवारका आवासदेखि सरकारी कार्यालय, सामुदायिक भवन र धर्मशालासम्म रहेका छन् ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०८२/८३ सम्म जनता आवास कार्यक्रमअन्तर्गत २० हजार ३७८, महेन्द्रनारायण निधि आवास कार्यक्रमअन्तर्गत २ हजार ४१२ र विपन्नसँग मदन भण्डारी आवास कार्यक्रमअन्तर्गत ४ हजार ७८ वटा आवास निर्माण भएका छन् ।

यस अवधिमा ८५६ सरकारी भवन, २९१ सामुदायिक भवन र ६८ धर्मशाला समेत निर्माण सम्पन्न भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सूचना अधिकारी रोहित जोशीका अनुसार प्रदेशका आठवटै जिल्लामा आवश्यकता र प्राथमिकताका आधारमा ती संरचना निर्माण गरिएको हो ।

जनता आवास कार्यक्रममार्फत आर्थिक वर्ष २०७७/७८ मा ९ हजार ४५, २०७८/७९ मा २ हजार ७२८, २०७९/८० मा ६ हजार ३९३, २०८०/८१ मा ११५, २०८१/८२ मा १ हजार ६४८ र २०८२/८३ मा १९० वटा आवास निर्माण गरिएको मन्त्रालयको तथ्यांक छ ।

प्रदेश सरकारले विपन्न तथा दलित परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरेको आवास कार्यक्रमलाई सामाजिक सुधारसँग समेत जोडेको छ । वर्षौंदेखि कमजोर तथा असुरक्षित घरमा बस्दै आएका परिवारले पक्की आवास पाएपछि उनीहरूको दैनिक जीवनमा सहजता आएको सरकारको दाबी छ ।

त्यस्तै, प्रदेश सरकार स्थापना भएपछि सरकारी कार्यालयका लागि आवश्यक भौतिक संरचना निर्माणलाई पनि प्राथमिकता दिइएको छ । मन्त्रालयका अनुसार छ वर्षको अवधिमा ८५६ सरकारी भवन निर्माण भएका छन् । आर्थिक वर्ष २०७७/७८ मा ९, २०७९/८० मा ३, २०८०/८१ मा २३८, २०८१/८२ मा ३१७ र २०८२/८३ मा २८९ सरकारी भवन निर्माण सम्पन्न भएका छन् ।

आफ्नै भवन निर्माण भएपछि सरकारी कार्यालय सञ्चालनमा सहजता हुनुका साथै सेवाग्राहीले समेत व्यवस्थित वातावरणमा सेवा लिन पाउने अवस्था बनेको मन्त्रालयको भनाइ छ ।

गाउँटोलमा विवाह, बैठक, सामाजिक तथा अन्य सामुदायिक गतिविधिका लागि आवश्यक पूर्वाधार निर्माण गर्न प्रदेश सरकारले सामुदायिक भवनलाई पनि प्राथमिकतामा राखेको छ ।

पछिल्लो ६ वर्षमा २९१ सामुदायिक भवन निर्माण भएका छन् । त्यसमध्ये आव २०७७÷७८ मा ९७, २०७८÷७९ मा २७ र २०७९÷८० मा १६७ वटा सामुदायिक भवन निर्माण गरिएको मन्त्रालयले जनाएको छ ।

यसैगरी, विवाह, व्रतबन्धलगायत सामाजिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालनका लागि प्रदेशका विभिन्न जिल्लामा ६८ धर्मशाला निर्माण भएका छन् ।

मन्त्रालयका प्रवक्ता प्रविणप्रताप अधिकारीले भौतिक संरचना निर्माणलाई नागरिकको जीवनस्तर सुधारसँग जोडेर अघि बढाइएको बताए । उनका अनुसार सुरक्षित आवास, सहज सरकारी सेवा तथा सामाजिक गतिविधिका लागि आवश्यक संरचना उपलब्ध गराउनु सरकारको प्राथमिकता हो ।

‘पूर्वाधार विकासलाई नागरिकको सामाजिक तथा आर्थिक समृद्धिसँग जोडेर सरकारले काम गरिरहेको छ,’ अधिकारीले भने ।