शहीदहरूको स्मृति दिवसमा शहीदद्वारमा सरसफाइ तथा माल्यार्पण
जनकपुरधाम, २५ भदौ । मधेश आन्दोलनका क्रममा जनकपुरधाममा सहादत प्राप्त गरेका शहीद निकु यादव, दिलीप यादव र सञ्जय चौधरीको स्मृति दिवसका अवसरमा आज जनकपुरधामस्थित शहीदद्वारमा सरसफाइ तथा माल्यार्पण कार्यक्रम गरिएको छ ।
कार्यक्रममा सहभागीहरूले शहीदद्वार परिसरको सरसफाइ गर्दै शहीदहरूको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका छन् । शहीदहरूको योगदान र बलिदानलाई स्मरण गर्दै उनीहरूले शहीदले देखाएको बाटो र आन्दोलनका उपलब्धिको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् ।
२०७२ साल भदौ २५ गते तत्कालीन मधेश आन्दोलनका क्रममा जनकपुरधाममा आयोजित ‘चलु जनकपुर, भरु जनकपुर’ कार्यक्रमका क्रममा प्रहरीको गोली लागेर निकु यादव, दिलीप यादव र सञ्जय चौधरीले सहादत प्राप्त गरेका थिए ।
स्थानीय प्रशासनले कफ्र्यु तथा निषेधाज्ञा जारी गरेको अवस्थामा पनि आन्दोलनकारीहरू जनकपुरमा भेला भएका थिए । सो क्रममा प्रहरीसँग झडप भएपछि गोली चलाइएको थियो ।
निकु यादव धनुषाको जमुनियाका, दिलीप यादव सिनुरजोडाका र सञ्जय चौधरी महेन्द्रनगरका थिए । निकु यादव त्यतिबेला १३ वर्षका र दिलीप यादव १७ वर्षका थिए । सञ्जय चौधरी भने सद्भावना पार्टीका जिल्ला सदस्य थिए ।
मधेश आन्दोलनमा सहादत प्राप्त गरेका तीनै जनाको सम्मानमा जनकपुरधाम उपमहानगरपालिकाले मुजेलियास्थित जनकपुर–ढल्केवर सडकखण्डमा शहीदद्वार निर्माण गरेको हो ।
धनुष आकारमा निर्माण गरिएको द्वारमा भगवान् श्रीरामको प्रतिमासँगै निकु यादव, दिलीप यादव र सञ्जय चौधरीको अर्धकदको शालिक राखिएको छ । शहीदद्वार निर्माणमा करिब ४ करोड ५० लाख रुपैयाँ खर्च भएको विवरण सार्वजनिक भएको थियो ।
यसअघि पनि प्रत्येक वर्ष शहीद दिवसका अवसरमा उक्त शहीदद्वारमा श्रद्धाञ्जली कार्यक्रम हुँदै आएको छ । २०७९ सालमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि शहीदद्वारमा पुगेर तीनै शहीदको शालिकमा माल्यार्पण गरेका थिए । त्यसक्रममा उनले शहीदहरूको बलिदानबाट प्राप्त उपलब्धिको संरक्षण र संस्थागत गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
मधेश आन्दोलनको क्रममा भएको बलिदानबाट संघीयता, समावेशिता र अधिकारका सवाल अघि बढेको भन्दै शहीद परिवार तथा मधेश केन्द्रित दलहरूले लामो समयदेखि शहीदको योगदानको सम्मान र परिवारलाई राज्यले दिएका प्रतिबद्धता कार्यान्वयनको माग गर्दै आएका छन् ।
पछिल्लो समय पनि मधेश आन्दोलनका शहीद परिवारहरू आफ्ना सेवा सुविधासम्बन्धी माग लिएर प्रदेश सरकारसमक्ष आन्दोलनमा उत्रिएको समाचार सार्वजनिक भएको छ ।


