ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
पर्सा, २४ भदौ । पर्साको वीरगञ्ज महानगरपालिका–२१ परवानीपुर चोकबाट प्रहरीले ७ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
लागूऔषध ब्राउन सुगरको खरिद बिक्री तथा ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष टोलीले जितपुरबाट वीरगञ्जतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको कार रोकेर जाँच गरेको थियो ।
जाँचका क्रममा चालक बस्ने सिटको माथिल्लो भागमा प्लास्टिकभित्र लुकाइछिपाइ राखिएको ७ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले लागूऔषधसहित कार नियन्त्रणमा लिएर चालक भारत बिहार, पूर्वी चम्पारण, रक्सौल नगरपालिका–५ लोहडियाका ३१ वर्षीय दिनेश प्रसादलाई पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्तिमाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


