प्रतिबन्धित औषधिसहित स्कारपियो नियन्त्रणमा, चालक पक्राउ
सिरहा। २४ भदौ । सिरहाको लहानमा प्रहरीले प्रतिबन्धित औषधिसहित स्कारपियो गाडी नियन्त्रणमा लिएको छ । प्रहरीले गाडीका चालकलाई समेत पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।
बुधबार बिहान करिब ९ः१५ बजे लहान नगरपालिका–३ स्थित ठाडी चोकमा इलाका प्रहरी कार्यालय लहान र सशस्त्र प्रहरी बल सुरक्षा बेस लहानबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाका आधारमा ठाडीबाट लहानतर्फ आउँदै गरेको स १ च १४१४ नम्बरको स्कारपियो रोकेर जाँच गरेको थियो ।
जाँचका क्रममा गाडीबाट ‘ONEREX-100’ लेखिएको प्रतिबन्धित औषधि १२३ बोतल बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद औषधि र स्कारपियोसहित प्रहरीले लहान नगरपालिका–१० का करिब ४१ वर्षीय विजयकुमार बिसुकेलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका बिसुकेलाई इलाका प्रहरी कार्यालय लहानमा राखेर प्रतिबन्धित औषधिको ओसारपसार तथा घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।


