जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकाभित्र सञ्चालित संस्थागत विद्यालयका विभिन्न समस्या तत्काल समाधान गर्न निजी विद्यालयका छाता संगठनहरूले नगर प्रमुखको ध्यानाकर्षण गराएका छन् ।

संस्थागत विद्यालयका प्रतिनिधिहरूले प्रमुख प्रशासकीय अधिकृत ज्ञानहरि घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाउँदै शैक्षिक हबका रूपमा स्थापित जनकपुरधाममा शैक्षिक वातावरणलाई थप व्यवस्थित, गुणस्तरीय र प्रभावकारी बनाउन स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

उनीहरूले उपमहानगरपालिकाले शिक्षाको क्षेत्रमा विभिन्न पहल र कार्यक्रम अघि बढाएको देखिए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै तत्काल आवश्यक प्रक्रिया अघि बढाउन माग गरेका छन् ।

ध्यानाकर्षण पत्रमा अघिल्लो कक्षा सञ्चालनका लागि अनुमति माग गरेका विद्यालयलाई चैत मसान्तभित्र अनुमति प्रदान गरी त्यसको विवरण सार्वजनिक गर्नुपर्ने माग गरिएको छ ।

त्यस्तै, स्थानीय विषय लागू गरिए पनि हालसम्म पाठ्यपुस्तक उपलब्ध हुन नसकेको भन्दै तत्काल पुस्तक उपलब्ध गराउन आग्रह गरिएको एनप्याबसनका जनकपुरधाम नगर अध्यक्ष दिपक ठाकुरले बताए ।

संस्थागत विद्यालयका लागि शुल्क निर्धारण गरिए पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको भन्दै शुल्कसम्बन्धी निर्णयलाई व्यवहारमा लागू गर्नुपर्ने आफुहरूको माग रहेको उनले बताए । साथै, संस्थागत विद्यालयहरूको अनुगमन गरी वर्गीकरण गर्नुपर्ने व्यवस्था भए पनि हालसम्म वर्गीकरण हुन नसकेकोप्रति पनि संगठनहरूले प्रश्न उठाएका छन् ।

अनुगमनका क्रममा अनुमति प्राप्त कक्षाभन्दा माथिल्ला कक्षा सञ्चालन गरिरहेका विद्यालय फेला परे पनि हालसम्म कारबाही नभएको भन्दै त्यस्ता विद्यालयमाथि तत्काल आवश्यक कानुनी प्रक्रिया अघि बढाउन माग गरिएको छ ।

अनुमति वा दर्ताबिनै सञ्चालनमा रहेका विद्यालयलाई अविलम्ब बन्द गर्नुपर्ने तथा अनुमति लिएर पनि सञ्चालनमा नरहेका विद्यालयको यकिन गरी आवश्यक प्रक्रिया पूरा गरेर अनुमति खारेज गर्नुपर्ने मागसमेत ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

निजी विद्यालयका छाता संगठनहरूले जनकपुरधामको शैक्षिक क्षेत्रलाई व्यवस्थित बनाउन समस्या समाधानका लागि उपमहानगरपालिकाले तत्काल ठोस कदम चाल्नुपर्ने बताएका छन् । उनीहरूले ध्यानाकर्षण पत्रमा उल्लेख गरिएका विषयलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न नगर नेतृत्वसँग आग्रह गरेका छन् ।