जनकपुरधाम, २४ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले जनकपुरधाम वन प्राविधिक समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६१ हजार ५ सय रुपैयाँ सहयोग गरेको छ ।

समाजमा आबद्ध व्यक्तिहरूबाट स्वेच्छिक रूपमा रकम संकलन गरी उक्त सहयोग रकम कोषमा जम्मा गरिएको समाजले जनाएको छ ।

विपद्को कठिन परिस्थितिमा पीडित परिवारलाई राहत उपलब्ध गराउन आफूहरूले सकेको योगदान गरेको समाजको भनाइ छ ।

समाजले बाढीपीडितको पीडामा सबैले आ–आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग गर्न समेत अपिल गरेको छ ।

संकलित रकम पीडितका लागि ठूलो समाधान नभए पनि संकटको समयमा लगाइएको मल्हमका रूपमा आफूहरूले सहयोगलाई लिएको समाजले जनाएको छ ।

भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा सरकारी तथा गैरसरकारी क्षेत्रबाट राहत र पुनःस्थापनाका लागि सहयोग जुटाउने क्रम जारी छ ।