एकडारा–६ का २७५ परिवारले पाए गाउँ ब्लकको लालपुर्जा
महोत्तरी, २४ भदौ । महोत्तरीको एकडारा गाउँपालिका–६ मा गाउँ ब्लकअन्तर्गतको जग्गाको लालपुर्जा वितरण गरिएको छ ।
साविक कोल्हुवा बगेया गाविसका वडा नम्बर ५, ६, ७ र ८ अन्तर्गतका २७५ जना जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको हो ।
लामो समयदेखि जग्गा भोगचलन गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपत्र नपाएका स्थानीयवासीलाई लालपुर्जा उपलब्ध गराइएपछि उनीहरू खुसी भएका छन् ।
लालपुर्जा वितरण कार्यक्रममा संघीय सांसदहरू दीपक साह, उज्ज्वल झा, प्रदेश सांसद सुरिता साहलगायत जनप्रतिनिधि तथा स्थानीयको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै संघीय सांसद दीपक साहले वर्षौंदेखि जग्गा भोगचलन गर्दै आएका नागरिकलाई लालपुर्जा उपलब्ध गराउनु राज्यको महत्वपूर्ण दायित्व भएको बताए ।
उनले लालपुर्जा प्राप्त भएपछि स्थानीयवासीको जग्गामाथिको कानुनी अधिकार थप सुरक्षित हुने उल्लेख गर्दै बाँकी समस्याको समाधानका लागि पनि पहल गर्ने प्रतिबद्धता जनाए ।
त्यस्तै, सांसद उज्ज्वल झाले गाउँ ब्लकको जग्गा व्यवस्थापनको कामले स्थानीयको वर्षौंदेखिको समस्या समाधान भएको बताए ।
उनले लालपुर्जा वितरणसँगै नागरिकले आफ्नो सम्पत्तिको कानुनी सुरक्षा पाउने र आवश्यक परेको अवस्थामा त्यसको उपयोग गर्न सहज हुने धारणा राखे ।
प्रदेश सांसद सुरिता साहले लालपुर्जा प्राप्त गर्नु स्थानीय नागरिकका लागि ठूलो उपलब्धि भएको बताइन् ।
उनले अझै पनि जग्गासम्बन्धी समस्या रहेका नागरिकको पहिचान गरी प्रक्रिया अघि बढाउन सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको बताइन् ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले गाउँ ब्लकको जग्गालाई कानुनी स्वामित्व प्रदान गर्ने प्रक्रिया नागरिकको हितसँग प्रत्यक्ष जोडिएको विषय भएको बताए ।
उनले प्राप्त प्रमाण र आवश्यक प्रक्रिया पूरा भएका जग्गाधनीलाई नियमानुसार लालपुर्जा वितरण गर्ने कार्यलाई प्रशासनले प्राथमिकताका साथ सहजीकरण गर्दै आएको उल्लेख गरे ।
प्रजिअ यादवले जग्गाको लालपुर्जा पाएपछि त्यसको संरक्षण, अभिलेख व्यवस्थापन र कानुनी प्रक्रियाको पालना गर्न सम्बन्धित जग्गाधनीलाई आग्रहसमेत गरे ।
लालपुर्जा वितरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्रशासन तथा सम्बन्धित कार्यालयका कर्मचारीको सहभागिता रहेको थियो ।
लामो समयदेखि गाउँ ब्लकको जग्गाको स्वामित्व प्रमाणपत्रको प्रतीक्षामा रहेका स्थानीयले लालपुर्जा पाएसँगै आफूहरूको वर्षौंदेखिको समस्या समाधान भएको प्रतिक्रिया दिए ।




तस्बिरहरू: जिल्ला प्रशासन कार्यालय, महोत्तरी


