सामाजिक न्याय समितिले सभामुखलाई बुझायो वार्षिक प्रतिवेदन
जनकपुरधाम, २४ भदौ । मधेश प्रदेशको महिला, बालबालिका तथा सामाजिक न्याय समितिले आफ्नो वार्षिक प्रतिवेदन २०८३ प्रदेशसभाका सभामुख रामअशिष यादवसमक्ष पेश गरेको छ ।
समितिकी सभापति रूपा कुमारी यादवको नेतृत्वमा सदस्यहरूले बुधबार सभामुख यादवलाई प्रतिवेदन बुझाएका हुन् ।
प्रतिवेदनमा समितिले आर्थिक वर्ष २०८२/८३ मा महिला, बालबालिका तथा सामाजिक न्यायका क्षेत्रमा गरेका गतिविधि, अनुगमन तथा समितिका कामकारबाही समेटिएको जनाइएको छ ।
समितिले महिला तथा बालबालिकाको अधिकार संरक्षण, सामाजिक न्याय प्रवर्द्धन तथा सम्बन्धित विषयमा सरकारका कामकारबाहीको अनुगमन र आवश्यक सुझाव दिने कार्य गर्दै आएको छ ।
प्रतिवेदन बुझ्दै सभामुख यादवले समितिले आफ्नो कार्यक्षेत्रअनुसार गरेका काम तथा प्रस्तुत गरेका सुझावहरू महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रदेशसभाको प्रभावकारिता बढाउन विषयगत समितिहरूको भूमिका महत्वपूर्ण हुने बताए ।
समितिकी सभापति रूपा कुमारी यादवले महिला, बालबालिका तथा सामाजिक न्यायका सवाललाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि समितिको कामलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।


