सर्लाही, २४ भदौ । प्रहरी कर्मचारीमाथि कुटपिट गरी घाइते बनाएको तथा प्रहरीको मोटरसाइकल तोडफोड गरेको आरोपमा फरार रहेका एक व्यक्ति ललितपुरबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाहीको कविलासी नगरपालिका–१० सलेमपुरका ५० वर्षीय अशोक कुमार यादव रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले जिल्ला प्रहरी परिसर ललितपुरको सहयोगमा यादवलाई ललितपुर महानगरपालिका–२३ धापाखेलबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार गत जेठ २५ गते कविलासी नगरपालिका–८ अगर्वामा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि यादवसहितका व्यक्तिहरूले कुटपिट गरेका थिए ।

कुटपिटबाट केही प्रहरी कर्मचारी घाइते भएका थिए भने उनीहरूले नेपाल प्रहरीको मोटरसाइकलसमेत तोडफोड गरी फरार भएका थिए ।

यादवलाई पक्राउ गरेपछि सर्लाही जिल्ला अदालतबाट कुटपिट तथा अङ्गभङ्गसम्बन्धी कसुरमा म्याद थप अनुमति लिई जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीमाथि कुटपिट र सवारीसाधन तोडफोड गरेको घटनामा उनीविरुद्ध आपराधिक उपद्रवसम्बन्धी कसुरमा समेत अनुसन्धान भइरहेको छ ।

प्रहरीका अनुसार यादव यसअघि पनि राज्यविरुद्धको कसुर, चोरी, केही सार्वजनिक अपराध, ज्यान मार्ने उद्योग, सार्वजनिक शान्तिविरुद्धको कसुर, आपराधिक प्रवेश तथा पराधिक उपद्रवलगायत विभिन्न ११ वटा कसुरमा अनुसन्धानमा परिसकेका व्यक्ति हुन् ।

प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूबारे समेत आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।