बारा, २४ भदौ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित वडा कार्यालय नजिकै पूर्वपश्चिम राजमार्गबाट ठूलो परिमाणमा लागूऔषध ट्रामाडोलसहित एक युवक पक्राउ परेका छन् ।

पूर्वपश्चिम राजमार्गमा चेकिङ गर्ने क्रममा वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको ना.५ ख ७६२३ नम्बरको यात्रुवाहक बसलाई रोकेर प्रहरीले जाँच गरेको थियो । सो क्रममा बसको हुड र्‍याकमा राखिएका दुईवटा क्यारी ब्याग फेला परेका थिए ।

ती ब्याग चेकजाँच गर्दा Tramadol Hydrochloride Capsules १८ हजार ३ सय पिस बरामद भएको प्रहरीले जनाएको छ ।

लागूऔषधसहित पर्साको वीरगन्ज महानगरपालिका–१६ बस्ने करिब १९ वर्षीय आनन्द चौरसियालाई नियन्त्रणमा लिइएको छ ।

पक्राउ परेका चौरसियामाथि लागूऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

घटनामा लागूऔषध कहाँबाट ल्याइएको र कहाँ लैजान लागिएको थियो भन्ने विषयमा समेत थप अनुसन्धान भइरहेको छ ।