जेनजी आन्दोलनको एक वर्ष: मधेशमा ४ अर्ब ५२ करोडको क्षति, पुनर्निर्माण अझै अधुरो
जनकपुरधाम, २४ भदौ । गत वर्ष भएको जेनजी आन्दोलनले मुलुकको राजनीतिक परिदृश्यमा ठूलो परिवर्तन ल्याए पनि त्यसको भौतिक क्षतिको असर भने मधेश प्रदेशमा अझै देखिइरहेको छ ।
आन्दोलनका क्रममा सरकारी कार्यालय, सुरक्षा निकायका संरचना, सवारीसाधन तथा स्थानीय तहका भौतिक पूर्वाधारमा भएको क्षति एक वर्ष बितिसक्दा पनि पूर्णरूपमा पुनर्निर्माण हुन सकेको छैन ।
राष्ट्रिय योजना आयोगको प्रतिवेदनअनुसार जेनजी आन्दोलनका क्रममा मधेश प्रदेशमा सरकारी संरचना र सवारीसाधनमा गरी करिब ४ अर्ब ५२ करोड ६५ लाख रुपैयाँ बराबरको क्षति भएको थियो ।
आन्दोलनका क्रममा प्रदेशभरिका २ सय ९७ सरकारी कार्यालयमा क्षति पुगेको थियो ।
प्रदेश सरकारअन्तर्गतका कार्यालयमा मात्रै करिब ५७ करोड ३५ लाख ५२ हजार रुपैयाँ बराबरको क्षति भएको मूल्याङ्कन गरिएको छ ।
सरकारी कार्यालयसँगै प्रहरीका संरचना र सवारीसाधनमा समेत ठूलो क्षति पुगेको थियो ।
आन्दोलन भएको एक वर्ष पूरा भए पनि क्षतिग्रस्त सबै संरचना पुरानै अवस्थामा फर्किन सकेका छैनन् ।
कतिपय कार्यालय सामान्य मर्मतपछि सञ्चालनमा आए पनि पूर्ण पुनर्निर्माणको काम अझै बाँकी छ ।
क्षतिग्रस्त संरचनाका कारण कतिपय सरकारी निकायले अस्थायी तथा कामचलाउ व्यवस्थाबाट सेवा दिइरहेका छन् ।
जेनजी आन्दोलनको प्रभाव मधेश प्रदेशसभा र त्यसअन्तर्गतका संरचनामा समेत परेको थियो । प्रदेशसभा भवन तथा सचिवालयमा बैठक कक्ष, विभिन्न समितिका कार्यालय, फर्निचर र विद्युतीय उपकरणमा क्षति पुगेको थियो ।
त्यस्तै, स्थानीय तहका कार्यालय तथा भौतिक संरचनामा पनि आन्दोलनका क्रममा क्षति पुगेको थियो ।
मधेशका प्रमुख शहरमध्ये वीरगन्ज महानगरपालिका र जनकपुरधामका स्थानीय संरचनाले उल्लेख्य क्षति व्यहोरेका थिए ।
केही संरचनाको आंशिक पुनर्निर्माण गरिए पनि सबै पूर्ववत् अवस्थामा फर्किन सकेका छैनन् ।
आन्दोलनका कारण भएको भौतिक क्षतिसँगै सरकारी सेवा प्रवाहमा समेत असर परेको थियो ।
कार्यालयका भवन, उपकरण तथा सवारीसाधन क्षतिग्रस्त हुँदा नियमित प्रशासनिक काम प्रभावित भएका थिए ।
अहिले अधिकांश कार्यालयले सेवा सञ्चालन गरिरहेका भए पनि क्षतिग्रस्त संरचनाको दीर्घकालीन पुनर्निर्माण चुनौतीकै रूपमा रहेको छ ।


