बाढीपीडितका लागि कांग्रेस वडा समितिको ५१ हजार सहयोग
जनकपुरधाम, २४ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै जनकपुरधाम उपमहानगरपालिका–७ नेपाली कांग्रेस वडा कार्यसमितिले राहत तथा उद्धारका लागि आर्थिक सहयोग गरेको छ ।
विपद्को कठिन परिस्थितिमा बाढीपीडितको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले वडा कार्यसमितिले प्रधानमन्त्री सहायता कोषमा ५१ हजार रुपैयाँ सहयोग गरेको हो ।
समितिले बुधबार सहयोग रकम उपलब्ध गराएको जनाएको छ ।
वडा कार्यसमितिका सभापति श्याम साहले विपद्का बेला पीडितको साथमा उभिनु सबैको साझा दायित्व भएको बताए ।
त्यस्तै, वडाध्यक्ष निरज कुमार साह ‘मुन्ना’ले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै पुनःस्थापनाका लागि पनि राज्य र समाजका सबै पक्षले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने धारणा राखे ।
उनले भने, ‘विपद् कसैमाथि पनि आउन सक्छ । यस्तो दुःखद् अवस्थामा पीडित परिवारलाई सहयोग गर्नु मानवीय कर्तव्य हो । हाम्रो सानो सहयोगले पनि राहत तथा उद्धारमा केही योगदान पुग्ने विश्वास लिएका छौँ ।’
वडा समितिले विपद्को समयमा सहयोग र एकताको भावना अझ बलियो बनाउन स्थानीय तहदेखि नागरिक समाज र राजनीतिक दलसम्म सबैलाई राहत तथा उद्धार अभियानमा जुट्न आग्रहसमेत गरेको छ ।


