बाढीको क्षतिमा जलवायु न्याय मागौँ: मुख्यमन्त्री यादव
जनकपुरधाम, २३ भदौ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको प्राकृतिक विपद्को क्षतिका लागि अन्तर्राष्ट्रिय समुदायसँग राहतभन्दा जलवायु न्याय र क्षतिपूर्ति माग्नुपर्ने बताएका छन् ।
मंगलबार जनकपुरधाम उद्योग वाणिज्य संघको सक्रियतामा रसुवाको भोटेकोशी बाढीपीडितका लागि संकलित राहत सामग्री सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले जलवायु परिवर्तनमा ठूलो योगदान गर्ने मुलुकहरूका कारण नेपालजस्ता साना देशले बाढी, पहिरो र खडेरीजस्ता विपद्को सामना गर्नुपरेको बताए ।
उनले जलवायु परिवर्तनबाट नेपालमा भइरहेको क्षतिबारे अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा आवाज उठाउन संघीय सरकारसँग आग्रह गरे ।
प्राकृतिक विपद्बाट हुने क्षतिको दीर्घकालीन समाधानका लागि अन्तर्राष्ट्रिय समुदायबाट जलवायु न्याय प्राप्त गर्न पहल आवश्यक रहेको उनको भनाइ थियो ।
भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि मधेश प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री यादवले बताए ।
बाढी आएको दिन नै प्रदेश सरकारका मन्त्री तथा कर्मचारीको एक दिनको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको उनले जानकारी दिए ।
बाढी प्रभावित क्षेत्रमा पठाउन प्रदेश सरकारले दोस्रो चरणमा करिब दुई करोड रुपैयाँ बराबरका पाल खरिद गरिसकेको र ती सामग्री छिट्टै प्रभावित क्षेत्रमा पठाइने उनले बताए ।
त्यसपछि खाद्यान्न, लत्ताकपडालगायत आवश्यक सामग्री पठाउने तयारी भइरहेको मुख्यमन्त्री यादवको भनाइ छ ।
प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्न प्रदेश सरकारले विपद् कोषमार्फत निरन्तर काम गर्दै आएको उनले बताए ।


