मधेशमा १५४ हेक्टरभन्दा बढी वन अतिक्रमणमुक्त
जनकपुरधाम, २३ भदौ । मधेश प्रदेशमा वन अतिक्रमण नियन्त्रण अभियानलाई तीव्र पारिएसँगै आर्थिक वर्ष २०८२/८३ मा १५४ दशमलव ५५ हेक्टर वन क्षेत्र अतिक्रमणमुक्त गरिएको छ ।
मधेश प्रदेश वन निर्देशनालय जनकपुरधामका अनुसार अतिक्रमणमुक्त गरिएको वन क्षेत्रमध्ये सबैभन्दा ठूलो हिस्सा पर्सामा रहेको छ । पर्सामा मात्रै १२० हेक्टर वन क्षेत्र अतिक्रमणमुक्त गरिएको छ ।
त्यस्तै, बारामा २१ हेक्टर, सप्तरीमा पाँच हेक्टर, धनुषामा ३ दशमलव २५ हेक्टर, सर्लाहीमा तीन हेक्टर, महोत्तरीमा दुई हेक्टर र सिरहामा शून्य दशमलव ३५ हेक्टर वन क्षेत्र अतिक्रमणमुक्त गरिएको वन निर्देशनालयले जनाएको छ ।
वन निर्देशनालयका सूचना अधिकारी सजन चौधरीका अनुसार वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाई ती क्षेत्रलाई पुनः वन संरक्षण तथा व्यवस्थापनको दायरामा ल्याइएको हो ।
अतिक्रमण नियन्त्रणसँगै वन चोरी तथा तस्करी नियन्त्रण र वन संरक्षणका गतिविधिलाई समेत तीव्रता दिइएको उनले बताए ।
३२ लाखभन्दा बढी बिरुवा उत्पादन
वन संरक्षण तथा हरियाली प्रवर्द्धनका लागि प्रदेशका विभिन्न जिल्लामा गत आर्थिक वर्ष ३२ लाख ३९ हजार ८१० बिरुवा उत्पादन गरिएको छ । उत्पादित बिरुवामध्ये विभिन्न प्रजातिका बिरुवा प्रयोग गरी २६१ दशमलव ७७ हेक्टर क्षेत्रफलमा वृक्षरोपण गरिएको निर्देशनालयले जनाएको छ ।
जिल्लागत रूपमा सबैभन्दा बढी सर्लाहीमा ८ लाख ६३ हजार ९७० बिरुवा उत्पादन गरिएको छ । सप्तरीमा ५ लाख ३ हजार ६४०, सिरहामा ४ लाख १५ हजार, धनुषामा ४ लाख ३ हजार, बारामा ४ लाख ३४ हजार २००, महोत्तरीमा २ लाख २० हजार र पर्सामा ४ लाख बिरुवा उत्पादन गरिएको छ ।
वृक्षरोपणतर्फ सप्तरीमा ९५ हेक्टर, धनुषामा ६६ दशमलव ५ हेक्टर, बारामा ४३ दशमलव ५३ हेक्टर, सिरहामा २६ हेक्टर, महोत्तरीमा २० हेक्टर, सर्लाहीमा ८ दशमलव ५ हेक्टर र पर्सामा २ दशमलव २४ हेक्टर क्षेत्रफलमा वृक्षरोपण गरिएको छ ।
साढे ६ लाख घनफिटभन्दा बढी काठ उत्पादन
वन क्षेत्रको व्यवस्थित उपयोगअन्तर्गत चालु आर्थिक वर्षमा मधेश प्रदेशका विभिन्न जिल्लामा ६ लाख ६५ हजार २७३ दशमलव २६ घनफिट काठ उत्पादन भएको वन निर्देशनालयले जनाएको छ ।
काठ उत्पादनमा सर्लाही अगाडि रहेको छ । सर्लाहीमा मात्रै ३ लाख ५१ हजार ७५९ दशमलव ५ घनफिट काठ उत्पादन भएको छ ।
त्यस्तै, बारामा ९४ हजार ४६६ दशमलव ९, महोत्तरीमा ७८ हजार ५१६ दशमलव ९८, सिरहामा ६७ हजार ८७६ दशमलव ६७, सप्तरीमा ६५ हजार २९ दशमलव ४९ र धनुषामा ७ हजार ६२३ दशमलव ७२ घनफिट काठ उत्पादन भएको निर्देशनालयले जनाएको छ ।
सोही अवधिमा प्रदेशका विभिन्न जिल्लामा १ हजार २५६ चट्टा दाउरा उत्पादन भएको छ । यसमध्ये सर्लाहीमा ७५१ दशमलव ९५, बारामा २४२, महोत्तरीमा १९६ दशमलव ८९, सप्तरीमा ३५ दशमलव ३६, सिरहामा २२ दशमलव ५७ र धनुषामा ७ दशमलव ३८ चट्टा दाउरा उत्पादन भएको छ ।
काठ बिक्रीबाट साढे ५ करोडभन्दा बढी राजस्व
वन पैदावारको बिक्री वितरणतर्फ हालसम्म ५ लाख ३ हजार ७९९ दशमलव २७ घनफिट काठ बिक्री भएको छ ।
काठ तथा दाउराको बिक्री, वन पैदावारको उपयोग तथा अन्य वनजन्य गतिविधिबाट प्रदेश सरकारले ५ करोड ८५ लाख ५० हजार १९० रुपैयाँ राजस्व संकलन गरेको वन निर्देशनालयका सूचना अधिकारी चौधरीले बताए ।
वन निर्देशनालयका निर्देशक सुभाषचन्द्र दासले वन कर्मचारीको सक्रियताका कारण वन अतिक्रमण नियन्त्रण तथा चोरी–तस्करी नियन्त्रणमा सकारात्मक परिणाम प्राप्त भएको बताए ।
उनका अनुसार वन संरक्षणसँगै अतिक्रमण नियन्त्रण, वृक्षरोपण तथा वन पैदावारको व्यवस्थित र दिगो उपयोगलाई प्राथमिकतामा राखिएको छ ।
वन क्षेत्रको संरक्षणलाई प्रभावकारी बनाउन स्थानीय तह तथा सम्बन्धित सरोकारवालासँगको समन्वयलाई समेत थप बलियो बनाइने उनले बताए ।


