ब्राउन सुगरसहित दुई युवक पक्राउ
सिरहा, २३ भदौ । सिरहामा प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुई युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सिरहा नगरपालिका–२ स्थित छोट्की टोलमा खटिएको स्वीप अप्रेसन टोलीले मोटरसाइकल रोकेर चेकजाँच गर्ने क्रममा उनीहरूलाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।
प्रहरीले प्रदेश ३–०२–०१३ प ६४१२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूको साथबाट १६ ग्राम १४० मिलिग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ ।
पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय कमलेश कुमार साफी र सोही स्थानका ३२ वर्षीय मोटरसाइकल चालक सन्तोष यादव रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता एवं डीएसपी रमेशबहादुर पालका अनुसार पक्राउ परेका दुवै जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखिएको छ ।
उनीहरूमाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


