सर्लाही, २३ भदौ । तत्कालीन जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्कालाई टेलिफोनमार्फत धम्की दिएको आरोपमा नेकपा नेता अशोक यादव पक्राउ परेका छन् ।

मधेश प्रदेश प्रहरी कार्यालयका डीआईजी ओम अधिकारीले यादव पक्राउ परेको पुष्टि गरेका छन् । उनका अनुसार यादवलाई तत्कालीन एसपी खड्कालाई धम्की दिएको घटनासँग सम्बन्धित आरोपमा पक्राउ गरिएको हो ।

घटना २०८२ साल असारको हो । त्यसबेला यादवले टेलिफोनमार्फत एसपी खड्कालाई अपशब्द प्रयोग गर्दै ‘तराईमा लुट्न आएको लुटेरा’ भन्दै धम्की दिएको भनिएको अडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

अडिओ सार्वजनिक भएपछि प्रहरीले यादवको खोजी थालेको थियो । त्यसक्रममा उनी फरार रहेको प्रहरीको भनाइ थियो । लामो समयपछि प्रहरीले उनलाई पक्राउ गरेको डीआईजी अधिकारीले जानकारी दिए ।

प्रहरीका अनुसार धम्की दिएको समयमा यादव जनता समाजवादी पार्टी (जसपा)मा आबद्ध थिए । पछिल्लो समय भने उनी नेकपामा प्रवेश गरिसकेका छन् ।

यादवमाथि लागेको आरोपबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउपछि उनलाई कानुनी प्रक्रियाअनुसार अनुसन्धान तथा कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।