जनकपुरधाम, २३ भदौ । त्रिशूली तथा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि जनकपुरधामका सुनचाँदी व्यवसायीहरूले ५ लाख ५० हजार रुपैयाँभन्दा बढी मूल्य बराबरको राहत सहयोग गरेका छन् ।

जनकपुरधाम सुनचाँदी व्यवसायी संघले व्यवसायीहरूबाट संकलन गरेको ३ लाख १ हजार रुपैयाँ नगद नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ मधेश प्रदेशका अध्यक्ष पवन ठाकुरलाई हस्तान्तरण गरेको हो ।

त्यसैगरी संघले २०१ थान ट्र्याकसुट जनकपुरधाम उद्योग वाणिज्य संघलाई र ५१ थान कुकर राहत सहजीकरण अभियानका संयोजक अम्भुप्रसाद साहलाई प्रदान गरेको संघका अध्यक्ष राजीव कुमार साह चन्दनले जानकारी दिए ।

राहत सामग्री हस्तान्तरण गर्दै अध्यक्ष चन्दनले बाढीका कारण ठूलो जनधनको क्षति भएको अवस्थामा पीडित परिवारको दुःखमा साथ दिनु व्यवसायीहरूको सामाजिक दायित्व भएको बताए ।

व्यवसायसमेत प्रभावित भएर आर्थिक गतिविधि ठप्पजस्तै रहेको अवस्थामा पनि व्यवसायीहरूले आफ्नो क्षमताअनुसार रकम तथा सामग्री संकलन गरी राहत अभियानमा सहयोग गरेको उनले बताए ।

‘व्यवसायीहरू आफैं पनि विपद्को प्रभावमा परेका छन् । तर, यस्तो कठिन परिस्थितिमा पनि पीडित परिवारको पीडालाई आफ्नो पीडा सम्झेर सहयोग जुटाएका छौं,’ अध्यक्ष चन्दनले भने ।

उनले तत्कालीन राहतसँगै बाढी प्रभावित क्षेत्रमा पुनःस्थापना र पुनर्निर्माणको कामलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याए । प्रभावित परिवारलाई सामान्य जीवनमा फर्काउन दीर्घकालीन सहयोग आवश्यक रहेको भन्दै संघ त्यसका लागि समेत आगामी दिनमा सहकार्य गर्न तयार रहेको उनले बताए ।

बाढीबाट प्रभावित परिवारलाई तत्काल आवश्यक राहत उपलब्ध गराउन विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको अवस्थामा सुनचाँदी व्यवसायी संघको सहयोगले पनि राहत अभियानलाई थप बल पुगेको बताइएको छ ।

संघले विपद्का कारण प्रभावित नागरिकलाई आवश्यकताअनुसार सहयोग गर्ने तथा राहत र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।