जनकपुरधाम, २३ भदौ । रसुवा बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले जनकपुरधाम उद्योग वाणिज्य संघले ठूलो परिमाणमा राहत सामग्री संकलन गरेको छ ।

संघले व्यवसायी, उद्योगी तथा विभिन्न संघसंस्थाको सहयोगमा संकलन गरिएका कपडा, खाद्यान्न, भाँडाकुँडा, सरसफाइ सामग्रीलगायतका सामग्री बाढीपीडितसम्म पुर्याउने तयारी गरेको हो ।

संघका अनुसार संकलित राहत सामग्रीमा १ हजार ३ सय ७० थान लेडिज सुट, १ हजार ४ सय ४४ थान साडी, ७ सय ६५ थान बालबालिकाका कपडा, ४ सय ६५ थान जिन्स पेन्ट, १ हजार ८ सय ५२ थान जेन्स सेट, ३ सय २२ थान लेडिज कुर्ती तथा १ हजार ३ सय ४४ थान ट्र्याकसुटलगायत लत्ताकपडा रहेका छन् ।

त्यसैगरी ३ सय २५ थान बालबालिकाका जुत्ता, २ सय ५८ थान लेडिज जुत्ता, १ सय ६१ थान लेडिज चप्पल, ४ सय ५६ थान प्लास्टिक चप्पल, २ सय १० थान टावेल तथा अन्तर्वस्त्र र अन्य कपडा तथा जुत्ताचप्पलसमेत संकलन गरिएको संघले जनाएको छ ।

खाद्यान्नतर्फ ७५ बोरा चामल, २१ बोरा सोयाबिन, एक बोरा दाल, चार बोरा नुन, ४१ बोरा चुरा, २८ बोरा मुरही तथा ३१ कार्टुन चाउचाउ संकलन गरिएको छ । यस्तै तीन बोरा डायपर, तीन बोरा स्टेपरी, एक कार्टुन चियापत्ती र अन्य आवश्यक सामग्री पनि राहतका रूपमा संकलन गरिएको छ ।

बाढीपीडितका लागि खाना पकाउन तथा दैनिक प्रयोगमा सहज होस् भन्ने उद्देश्यले ७५ थान तावा, ७५ थान कराही, २ सय थान थाली, २ सय थान कचौरा, २ सय थान गिलास, २ सय थान सानो कचौरा र २ सय थान ठूलो कचौरासमेत उपलब्ध गराइएको छ ।

सरसफाइका लागि ३२ थान फिनेल, १५ थान ट्वाइलेट ब्रस र ३४ थान हरपिक्स पनि संकलन गरिएको छ । एक थान सिलाई मेसिनसमेत राहत सामग्रीमा रहेको संघले जनाएको छ ।

जनकपुरधाम उद्योग वाणिज्य संघका सचिव नरेन्द्र विक्रम साह ‘निरज’ले विपद्को समयमा व्यवसायी तथा निजी क्षेत्रले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै पीडितको साथमा उभिनुपर्ने बताए ।

उनले राहत संकलन अभियानमा उद्योगी, व्यवसायी, संघसंस्था तथा सर्वसाधारणबाट उत्साहजनक सहयोग प्राप्त भएको उल्लेख गर्दै संकलित सामग्री वास्तविक पीडितसम्म पारदर्शी र व्यवस्थित ढंगले पुर्याउन संघ प्रतिबद्ध रहेको बताए ।

‘विपद्को समयमा सहयोगको आकारभन्दा पीडितप्रतिको भावना महत्वपूर्ण हुन्छ । व्यवसायी तथा संघसंस्थाले आफ्नो क्षमताअनुसार गरेको सहयोगले विपद्मा परेका परिवारलाई तत्काल राहत दिन ठूलो भूमिका खेल्छ,’ सचिव साहले भने ।

उनका अनुसार संकलन अभियान राहत वितरणमा मात्र सीमित नराखी विपद्बाट प्रभावित परिवारलाई आवश्यकताका आधारमा सहयोग पुर्याउने उद्देश्यले अघि बढाइएको हो । उनले अभियानमा सहयोग गर्ने सम्पूर्ण उद्योगी, व्यवसायी, संघसंस्था तथा सहयोगी हातहरूप्रति आभार व्यक्त गरे ।

संघले बाढीपीडितको आवश्यकता अझै ठूलो रहेकाले आगामी दिनमा पनि राहत तथा सहयोग अभियानलाई निरन्तरता दिने जनाएको छ । संघका अनुसार विपद्को कठिन समयमा गरिएको सानो सहयोगले समेत पीडित परिवारको दैनिक जीवनमा महत्वपूर्ण राहत पुर्याउन सक्छ ।