रसुवा बाढीका मृतक सम्झिँदै जनकपुरधाममा दीप प्रज्ज्वलन
जनकपुरधाम, २२ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको आत्माको चीरशान्तिको कामना गर्दै जनकपुरधामका युवाहरूले दीप प्रज्ज्वलन गरेका छन् ।
बाढीमा परी ज्यान गुमाएका नागरिकको सम्झनामा १३औँ दिनको पुण्य तिथिमा सोमबार साँझ जानकी मन्दिरको प्राङ्गणमा युवाहरूले दीप प्रज्ज्वलन गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
दीप प्रज्ज्वलन कार्यक्रममा सहभागी युवाहरूले बाढीमा परी ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेका थिए ।
कार्यक्रममा सहभागीहरूले प्राकृतिक विपद्का कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै प्रभावित परिवारको उद्धार, राहत र पुनःस्थापनामा राज्यले थप प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए ।
भोटेकोशी बाढीले रसुवासहित विभिन्न जिल्लामा ठूलो क्षति पुर्याएको थियो । विपद्मा परी धेरै नागरिकको ज्यान गएको, केही अझै सम्पर्कविहीन रहेको तथा ठूलो संख्यामा परिवार प्रभावित बनेका छन् ।
जनकपुरधामका युवाहरूले दीप प्रज्ज्वलनमार्फत विपद्मा ज्यान गुमाएकाहरूको स्मरण गर्नुका साथै पीडित परिवारप्रति ऐक्यबद्धता र सहानुभूति प्रकट गरेका हुन् ।
तस्बिर: लोकेश झा


