भोटेकोशी बाढीमा ज्यान गुमाएकाप्रति मटिहानीमा श्रद्धाञ्जली, एक मिनेट मौनधारण
महोत्तरी, २२ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा महोत्तरीको मटिहानीमा श्रद्धाञ्जलीसभा तथा एक मिनेट मौनधारण गरिएको छ ।
नेपाल सरकारले देशभर राष्ट्रिय शोक दिवस मनाउने क्रममा मटिहानी नगरपालिकाको आह्वानमा सोमबार बिहान ११ बजे नगर क्षेत्रका विभिन्न स्थानमा एक मिनेट मौनधारण गरिएको हो ।

मटिहानी नगरपालिकाको आह्वानअनुसार नगर क्षेत्रका सरकारी कार्यालय, विद्यालय, मदरसा तथा सार्वजनिक स्थलमा उपस्थित नागरिक र कर्मचारीहरूले आ–आफ्नो स्थानमा उभिएर एक मिनेट मौनधारण गरेका थिए ।
मौनधारणमार्फत भोटेकोशी बाढी तथा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको थियो ।

नगरपालिकाले विपत्तिमा परी ज्यान गुमाउनेप्रति सम्मान तथा शोकसन्तप्त परिवारप्रति ऐक्यबद्धता जनाउँदै राष्ट्रिय शोकको अवसरमा सबै नगरवासीलाई मौनधारणमा सहभागी हुन आह्वान गरेको थियो ।
नगर क्षेत्रका विभिन्न स्थानमा एकै समयमा गरिएको मौनधारणमा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।



