विपद्का बेला राजनीतिक मतभेद बिर्सेर उद्धार र राहतमा जुट्न निधिको आग्रह
जनकपुरधाम, २२ भदौ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले विपद्को समयमा राजनीतिक तथा दलीय मतभेदलाई पन्छाएर उद्धार, राहत र पुनर्निर्माणमा एकजुट हुन सबै पक्षलाई आग्रह गरेका छन् ।
लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सका नवनिर्वाचित पदाधिकारीको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै निधिले नेपालले पछिल्लो समय अहिलेसम्म नदेखिएको प्रकृतिको विपद्को सामना गरिरहेको बताए ।
यस्तो अवस्थामा राजनीतिक विवाद र मतभेदभन्दा मानवीय उद्धार तथा राहत कार्यलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।
विपद् आएको दुई साता बितिसक्दा पनि मुलुक अझै उद्धारकै चरणमा रहेको उल्लेख गर्दै निधिले जीवित व्यक्तिको खोजी तथा उद्धारलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । उनले अहिलेको अवस्थामा उद्धार, राहत र त्यसपछि पुनर्निर्माणमा केन्द्रित हुनु नै राज्य र समाजको प्रमुख दायित्व भएको धारणा राखे ।
सीमित स्रोतसाधनका बीच नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले विपद्पछिको खोज तथा उद्धारमा निर्वाह गरिरहेको भूमिकाको निधिले प्रशंसा गरे । विपद्को सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र, नागरिक समाज तथा राजनीतिक दलबीच सहकार्य र समन्वय अपरिहार्य रहेको उनले बताए ।
निधिले विपद्का बेला राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर मानवीय संवेदनालाई केन्द्रमा राख्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सका नवनिर्वाचित पदाधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । शपथ ग्रहणपछि उनीहरूले औपचारिक रूपमा आफ्नो पदभारसमेत ग्रहण गरे ।


