धनुषाबाट एक दर्जन फरार प्रतिवादी पक्राउ
जनकपुरधाम, २२ भदौ । जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका १२ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सोमबार कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीहरूलाई खोजतलासका क्रममा पक्राउ गरेको हो ।
पक्राउ परेकामध्ये अधिकांश कुटपिट मुद्दाका प्रतिवादी रहेका छन् । उनीहरूलाई धनुषा जिल्ला अदालतबाट फैसला भई कैद तथा जरिवाना तोकिएको थियो ।
अदालतको फैसला कार्यान्वयनका क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि धनुषा जिल्ला अदालतमा बुझाएको जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये एक जनालाई चोरी मुद्दामा १५ दिन कैद र १ लाख ६८ हजार २८० रुपैयाँ जरिवाना तोकिएको थियो ।
त्यस्तै, कुटपिट मुद्दामा दुई जनालाई ६/६ महिना कैद र २/२ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।
अन्य कुटपिट मुद्दाका प्रतिवादीहरूलाई कैद सजाय नभए पनि अदालतबाट विभिन्न रकम जरिवाना तोकिएको प्रहरीले जनाएको छ ।
कुटपिट मुद्दाका अन्य प्रतिवादीमध्ये क्रमशः २३८ रुपैयाँ ३४ पैसा, २४१ रुपैयाँ ३७ पैसा, २४१ रुपैयाँ ३७ पैसा, २४१ रुपैयाँ ३७ पैसा, ४ सय रुपैयाँ, ११५ रुपैयाँ तथा २१/२१ रुपैयाँ जरिवाना तोकिएका व्यक्ति रहेका छन् ।
प्रहरीले अदालतबाट सजाय तोकिएर फरार रहेका अन्य प्रतिवादीहरूको समेत खोजी तथा पक्राउ अभियान जारी रहेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले पक्राउ परेका सबैलाई आवश्यक कानुनी कारबाहीका लागि अदालतमा पेश गरिएको जानकारी दिए ।


