एमाले छाडेका युवा नेता मण्डल रास्वपामा प्रवेश
जनकपुरधाम, २२ भदौ । नेकपा एमालेको साधारण सदस्यसमेतबाट राजीनामा दिएका पूर्व प्रदेश कमिटी सदस्य तथा युवा नेता देवकृष्ण मण्डल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
सोमबार जनकपुरधाममा आयोजित एक कार्यक्रमबीच मण्डललाई रास्वपा मधेश प्रदेशका RAT विभाग प्रमुख अम्भु प्रसाद साहले गम्छा लगाएर पार्टीमा स्वागत गरेका हुन् ।
कार्यक्रममा धनुषा–२ का प्रतिनिधिसभा सदस्य रामविनोद यादवको समेत विशेष उपस्थिति रहेको थियो ।
मण्डललाई पार्टीमा प्रवेश गराउन हंसपुरका युवा नेताहरू मनोजकुमार यादव, रामभजन यादव र ललित यादवले विशेष पहल गरेको बताइएको छ ।
पार्टी प्रवेश कार्यक्रममा रास्वपा हंसपुरका युवा नेता मनोजकुमार यादव, रामभजन यादव, ललित यादवलगायतको सहभागिता थियो ।
एमालेमा रहँदा प्रदेश कमिटी सदस्यको जिम्मेवारीसमेत सम्हालेका मण्डलले पछिल्लो समय एमालेको साधारण सदस्यबाट समेत राजीनामा दिएका थिए ।
रास्वपामा प्रवेश गरेसँगै उनले पार्टीको नीति, विचार र उद्देश्यअनुसार संगठन विस्तारमा सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाएका छन् ।
उनले जनताको अपेक्षा र आवश्यकता केन्द्रमा राखेर राजनीतिक तथा सामाजिक गतिविधिमा सक्रिय रहने बताए । साथै, पार्टी संगठनलाई स्थानीय तहसम्म मजबुत बनाउन आफ्नो भूमिका प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।
रास्वपा नेताहरूले मण्डलको प्रवेशले धनुषा–२ तथा हंसपुरमा पार्टीको संगठन विस्तारमा थप सहयोग पुग्ने दाबी गरेका छन् ।



