बाढीपीडितको राहतमा जनकपुरधामका व्यवसायीको हातेमालो, संघमार्फत सामग्री संकलन
जनकपुरधाम, २१ भदौ । रसुवा बाढीपीडितहरूको राहत तथा उद्धारका लागि जनकपुरधामका व्यवसायी तथा विभिन्न व्यावसायिक संस्थाहरूले खाद्यान्न, कपडा तथा अन्य आवश्यक सामग्री सहयोग गरेका छन् ।
जनकपुरधाम उद्योग वाणिज्य संघमार्फत बाढीपीडितका लागि राहत सामग्री उपलब्ध गराउने क्रममा शुक्ल लक्ष्मी ट्रेडर्स एण्ड हार्डवेयरका सञ्चालक सुधीर यादवले २० बोरा चामल, एक बोरा दाल र दुई बोरा च्युरा सहयोग गरेका छन् ।
त्यस्तै, जनकपुरधाम अटोमोबाइल एसोसिएसनका अध्यक्ष कृष्ण दीक्षितसहित कार्यसमिति तथा जनकपुरधामका अटोमोबाइल व्यवसायीहरूले २०१ थान ट्र्याकसुट उपलब्ध गराएका छन् ।
पेठिया बजारस्थित न्यू गोविन्द वस्त्रालयका प्रोपराइटर सुनील कुमार साहले ५१ थान साडी र एक बोरा भुजा सहयोग गरेका छन् ।
भानुचोकस्थित विनोद साइकल स्टोरका प्रोपराइटर विनोद साह कलवारले १५ थान ट्र्याकसुट तथा जानकी चोकस्थित विशाल मार्टका प्रोपराइटर धर्मवीर साहले बालबालिकाका लागि ९ सय थान रेडिमेड कपडा उपलब्ध गराएका छन् ।
जनकपुरधाम उद्योग वाणिज्य संघका सचिव नरेन्द्र विक्रम साह (निरज) ले विपद्को समयमा व्यवसायीहरूले देखाएको मानवीय सहयोग प्रशंसनीय रहेको बताए ।
उनले बाढीपीडितको पीडामा मलम लगाउन सक्दो सहयोग गर्नु व्यवसायी समुदायको सामाजिक दायित्वसमेत भएको उल्लेख गरे ।
साहले भने, ‘रसुवामा आएको विपद्ले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ । यस्तो कठिन अवस्थामा जनकपुरधामका व्यवसायी तथा व्यवसायिक संस्थाहरूले स्वतःस्फूर्त रूपमा सहयोग गर्नु निकै सकारात्मक कुरा हो । प्राप्त राहत सामग्री वास्तविक पीडितसम्म पुर्याउने कार्यमा संघले सहजीकरण गर्नेछ ।’
उनले विपद्को समयमा सहयोग रकम वा सामग्रीभन्दा पनि पीडितप्रतिको मानवीय भावना महत्वपूर्ण हुने भन्दै अन्य व्यवसायी तथा संघसंस्थालाई समेत राहत अभियानमा जोडिन आग्रह गरे ।
जनकपुरधाम उद्योग वाणिज्य संघले सहयोग गर्ने सम्पूर्ण व्यवसायी, व्यवसायिक संस्था तथा सहयोगदाताप्रति धन्यवाद व्यक्त गर्दै प्राप्त सामग्री बाढीपीडितको आवश्यकता र अवस्थाका आधारमा वितरण गरिने जनाएको छ ।
संघले विपद्का बेला निजी क्षेत्रको सामाजिक उत्तरदायित्वलाई अझ प्रभावकारी बनाउन सहकार्य र समन्वयलाई निरन्तरता दिने जनाएको छ ।







