महोत्तरी, २१ भदौ । महोत्तरीको जलेश्वर नगरपालिका–३ खैरास्थित छर्की नजिकैको खेतमा एक महिलाको शव फेला परेको छ ।

स्थानीयले खेतमा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेको प्रहरीले शव नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान अघि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी पञ्चलाल गोलेका अनुसार मृतक महिला अन्दाजी ३० देखि ३५ वर्ष उमेरकी रहेको प्रारम्भिक अनुमान गरिएको छ । यद्यपि, उनको पहिचान भने खुल्न सकेको छैन ।

प्रहरीले घटनाको प्रकृति र महिलाको मृत्युको कारणबारे अनुसन्धान गरिरहेको जनाएको छ । शव परीक्षण तथा थप अनुसन्धानपछि मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।

मृतक महिलाको पहिचानका लागि प्रहरीले आवश्यक प्रक्रिया अघि बढाइरहेको छ भने घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको छ ।