बारा, २१ भदौ । बाराको पचरौता नगरपालिका–७ स्थित धान खेतबाट प्रहरीले १३९ किलो गाँजा बरामद गरेको छ ।

गाँजा बोकेर हिँडिरहेका ९ जना प्रहरीलाई देखेपछि बोरा खेतमै फालेर फरार भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शनिबार राति करिब १०ः३० बजे प्रहरी चौकी श्रीनगर बैरिया र सशस्त्र प्रहरी बल, बीओपी बेनौलीबाट खटिएको संयुक्त गस्ती टोलीले बेनौली चोकदेखि करिब ३०० मिटर पूर्व धान खेतको आलीमा ९ जना मानिसलाई झोलाजस्तो वस्तु बोकेर आउँदै गरेको देखेको थियो ।

प्रहरी टोलीले उनीहरूलाई रोक्न खोज्दा बोकेर ल्याएका पोका धान खेतमा फालेर सबै जना फरार भएका थिए । त्यसपछि प्रहरीले खेतमा छाडिएका पोका नियन्त्रणमा लिएर जाँच गर्दा गाँजा फेला परेको हो ।

प्रहरीका अनुसार ९ वटा पोकामा रहेको गाँजाको जुटको बोरासहित कुल तौल १५१ किलो थियो । जुटको बोरा हटाएर तौल गर्दा शुद्ध गाँजाको तौल १३९ किलो रहेको प्रहरीले जनाएको छ ।

बरामद गाँजा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढ ल्याइएको छ ।

गाँजा फालेर फरार भएका व्यक्तिहरूको खोजी भइरहेको तथा घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।