भोटेकोशी बाढीपीडितका लागि सहयोग जुटाउने क्रम जारी
पर्सा, २१ भदौ । भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि पर्साका विभिन्न स्थानीय तह, सामाजिक संघसंस्था, विद्यालय, उद्योगी तथा समाजसेवीले आर्थिक सहयोग जुटाउने क्रमलाई निरन्तरता दिएका छन् ।
बाढीपीडितलाई सहयोग गर्ने अभियानअन्तर्गत वीरगञ्जका सुनचाँदी व्यवसायी तथा समाजसेवी नीरज सर्राफ ‘मुन्ना सर्राफ’ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख ५१ हजार रुपैयाँ सहयोग गरेका छन् ।
त्यस्तै, वीरगञ्ज–१३ राधेमाईस्थित साउथ जोन माध्यमिक विद्यालयले बाढी प्रभावितका लागि १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग गरेको छ ।
यसैगरी, नेपाल पुलिस स्कुल शान्तिपुरमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम कटाएर ९५ हजार ७८३ रुपैयाँ संकलन गरी बाढीपीडितका लागि सहयोग गरेका छन् । विद्यालयमा गठित विभिन्न क्लबमा आबद्ध विद्यार्थीले उक्त रकम संकलन गरेका हुन् ।
बाढीबाट प्रभावित नेपाली नागरिक तथा परिवारप्रति ऐक्यबद्धता जनाउँदै भारतस्थित लभली प्रोफेसनल युनिभर्सिटी (एलपीयू) ले समेत राहत तथा आर्थिक सहयोग अभियान सुरु गरेको जनाएको छ ।
भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएपछि देशभरबाट राहत तथा आर्थिक सहयोग जुटाउने क्रम जारी छ ।
पर्सामा पनि स्थानीय व्यवसायी, विद्यार्थी, सामाजिक संस्था तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले आफ्नो क्षमता अनुसार सहयोग गर्दै आएका छन् ।
संकटको समयमा जुटिरहेको यस्तो सहयोगले बाढी प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा केही सहजता पुग्ने विश्वास गरिएको छ ।


