सञ्चार क्षेत्रका समस्या पहिचान गर्न काउन्सिल र प्राधिकरणको टोली सिरहा र सप्तरीमा
जनकपुरधाम, २१ भदौ । मधेश प्रदेशको सञ्चार क्षेत्रमा देखिएका समस्या तथा चुनौती पहिचान गर्दै आगामी कार्यदिशा तय गर्न मिडिया काउन्सिल मधेश प्रदेश र आमसञ्चार प्राधिकरणको टोली सिरहा र सप्तरी पुगेको छ ।
सञ्चार माध्यम र सञ्चारकर्मीको वास्तविक अवस्था बुझ्ने, समस्या पहिचान गर्ने तथा आगामी दिनमा आवश्यक समन्वय र सहकार्यका लागि सुझाव संकलन गर्ने उद्देश्यले टोलीले दुवै जिल्लाका पत्रकार तथा सञ्चारकर्मीसँग छलफल गरेको हो ।
सिरहामा आयोजित छलफलका क्रममा आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जीतेन्द्र खड्गाले सञ्चार क्षेत्रको विकासका लागि प्रदेशका सञ्चारमाध्यम र पत्रकारसँग निरन्तर संवाद तथा सहकार्य आवश्यक रहेको बताए ।
उनले जिल्लास्तरबाट आएका समस्या र सुझावलाई प्राथमिकताका साथ लिएर सञ्चार क्षेत्रलाई थप व्यवस्थित र व्यावसायिक बनाउन पहल गरिने धारणा राखे ।
टोलीमा मिडिया काउन्सिल मधेश प्रदेशकी कार्यवाहक अध्यक्ष बन्दना झा र आमसञ्चार प्राधिकरणका सदस्य ज्योति झालगायतको सहभागिता रहेको छ ।
छलफलमा सञ्चार क्षेत्रमा आचारसंहिता कार्यान्वयनदेखि पत्रकारको पहिचान, संस्थागत सुरक्षा र राजनीतिक प्रभावसम्मका विषय उठाइए ।
सञ्चारकर्मी अनिरूद्ध ठाकुरले जिल्लामा वास्तविक पत्रकार र नामधारी पत्रकार छुट्याउनै कठिन भइरहेको बताए ।
उनले अनलाइन तथा पत्रपत्रिका सञ्चालनका नाममा पत्रकारिताको आवरणमा गलत गतिविधि भइरहेको भन्दै नियमनकारी निकाय थप कडा हुनुपर्ने धारणा राखे ।
‘को पत्रकार हो भन्नै गाह्रो छ । आचारसंहिताको कुरा हुन्छ । तर, खै त लागू भएको? नामधारी बन्न पनि अनलाइन, पेपर खोल्छ र लुट्छ,’ ठाकुरले भने ।
उनले मिडिया काउन्सिलले प्रभावकारी अनुगमनसँगै आफ्नो उपस्थितिको अनुभूति सञ्चारकर्मीलाई गराउनुपर्ने र जिल्लास्तरमा नियमित बैठक तथा अन्तरक्रिया अनिवार्य गर्नुपर्ने माग गरे ।
केही राजनीतिक नेताले आफ्नो स्वार्थका लागि पत्रकारलाई प्रयोग गर्ने प्रवृत्ति बढेको उनको आरोप थियो ।
सिरहाकै सञ्चारकर्मी नरेश बरबरियले पत्रकारका लागि जिल्लामा व्यवस्थित कार्यालय तथा पूर्वाधारको अभाव रहेको बताए ।
पत्रकारले दिनभर फिल्डमा खटिएर काम गरे पनि फर्किएर काम गर्ने आफ्नै ठाउँसमेत नहुँदा समस्या भइरहेको उनको भनाइ थियो ।
‘सिरहाको ठूलो विडम्बना हो, पत्रकारको आफ्नै घर छैन । कार्यालय व्यवस्थापन हुनुपर्छ । हामी यहाँ पुस्तकालयमा बस्नुपर्ने बाध्यतामा छौँ,’ बरबरियले भने ।
उनले पछिल्लो समय पत्रकारिता दिशाहीन बन्दै गएको भन्दै वास्तविक पत्रकारलाई टिकाउने, पहिचान गर्ने र स्थापित गराउने विषयमा नियामक तथा सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए ।
त्यस्तै, सप्तरीमा भएको छलफलमा सञ्चार माध्यम र सञ्चारकर्मीको आर्थिक तथा व्यावसायिक अवस्थाप्रति चिन्ता व्यक्त गरिएको थियो ।
सञ्चारकर्मी सुधा देवले सप्तरीमा सञ्चार माध्यम र सञ्चारकर्मीको अवस्था दयनीय बन्दै गएको बताइन् ।
पत्रकारहरू विभिन्न उपायबाट स्वरोजगार सिर्जना गर्दै पेशामा टिकिरहे पनि जिल्लामा विज्ञापनको पर्याप्त स्रोत नहुँदा सञ्चार माध्यम सञ्चालनमा कठिनाइ रहेको उनको भनाइ थियो ।
‘पत्रकार जसरी पनि आफ्नै स्वरोजगार गरेर बाँचिरहेका छन् । सप्तरीमा त्यस्तो उद्योग वा संस्था छैन, जसबाट विज्ञापनमार्फत पत्रकारले कमाउन सकून्,’ देवले भनिन् ।
उनले विगतमा सरकारले सञ्चारमाध्यमलाई समेत साथ लिएर अघि बढ्ने गरेको भए पनि पछिल्लो समय सरकारको सञ्चार क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नदेखिएको गुनासो गरिन् ।
पत्रकार र सञ्चार माध्यम नै विस्थापित हुने अवस्था आउन सक्ने भन्दै उनले पत्रकारका लागि जीवन बीमा लगायतका सामाजिक सुरक्षाका कार्यक्रम ल्याउनुपर्ने माग गरिन् ।
‘बजेटको समस्या छ भने हामी पत्रकार साथ दिन तयार छौँ । संघीयताका लागि पत्रकारले धेरै संघर्ष गरेका छन्,’ उनले भनिन् ।
सप्तरीका अन्य सञ्चारकर्मीहरूले पनि पत्रकारिता क्षेत्रमा आपसी असहयोग र विभाजन बढ्नु पनि ठूलो चुनौती बनेको बताए ।
पत्रकारिता पृष्ठभूमिबाट विभिन्न जिम्मेवारीमा पुगेका व्यक्ति तथा सभासद् र मन्त्रीहरूले समेत पत्रकारको वास्तविक समस्या र पीडा बुझ्न नसकेको उनीहरूको गुनासो थियो ।
छलफलमा पत्रकारहरूले सञ्चारमाध्यमको आर्थिक दिगोपना, विज्ञापनको व्यवस्थापन, पत्रकारको पेशागत सुरक्षा, सामाजिक सुरक्षा, आचारसंहिताको प्रभावकारी कार्यान्वयन तथा पत्रकारितामाथिको राजनीतिक प्रभाव कम गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराएका थिए ।
मिडिया काउन्सिल र आमसञ्चार प्राधिकरणको टोलीले जिल्लाबाट प्राप्त सुझाव तथा समस्यालाई आगामी नीति, योजना र कार्यक्रम निर्माणमा समेट्दै सञ्चार क्षेत्रको सुधारका लागि सम्बन्धित पक्षसँग आवश्यक समन्वय र सहकार्य गर्ने जनाएको छ ।







