लामो समय सुनसान नाढीमन तालमा फेरि बढ्यो पर्यटकको चहलपहल
सर्लाही, २१ भदौ । धार्मिक, ऐतिहासिक तथा प्राकृतिक महत्व बोकेको सर्लाहीको नाढीमन तालमा पछिल्लो समय पर्यटकको चहलपहल बढ्न थालेको छ ।
लामो समयसम्म संरक्षण र व्यवस्थापनको अभावमा सुनसानजस्तै बनेको ताल क्षेत्रमा अहिले आन्तरिक तथा भारतको बिहारबाट समेत पर्यटक आउन थालेका छन् ।
चन्द्रनगर गाउँपालिका–६ र ७ मा फैलिएको नाढीमन ताल करिब ५२ बिघा क्षेत्रफलमा रहेको बताइन्छ । अतिक्रमणका कारण तालको क्षेत्रफल खुम्चिँदै गए पनि अहिले करिब ३५ बिघा क्षेत्र पानीले ढाकेको छ ।
ताललाई केही वर्षअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशका १०० पर्यटकीय गन्तव्यमा समेत सूचीकृत गरेको थियो ।
ताल परिसरमा मिथिला कलाघर, बाल उद्यान, मन्दिर, धर्मशाला तथा अन्य संरचना निर्माण भइरहेका छन् । गाउँपालिकाले ताल वरिपरि सडकसहितको ड्याम निर्माण, वृक्षरोपण तथा सौन्दर्यीकरणका काम अघि बढाएको छ ।
वि.सं. २०७२ मा चुरे संरक्षण विकास कार्यक्रमअन्तर्गत नेपाली सेनाले ताल परिसर सरसफाइ, बस्ने बेन्च निर्माण तथा वृक्षरोपण गरेपछि यहाँ पर्यटकको आकर्षण बढेको थियो ।
पर्यटक बढेपछि स्थानीयले पसल तथा होटल व्यवसायमा लगानी गरे पनि संरक्षणको निरन्तरताको अभावमा केही समयपछि ती व्यवसाय बन्द हुन पुगेका थिए ।
वि.सं. २०८१ मा माछा निकाल्न ताल सुकाइएपछि केही समय गौचरनमा परिणत भएको ताल अहिले पुनः पानीले भरिएको छ । तालमा भूमिगत जरुवा पानी आउने भएकाले वर्षभरि पानी रहने स्थानीयको भनाइ छ ।
तर, तालको पर्यटन विकाससँगै व्यवस्थापनका चुनौती पनि देखिएका छन् । तालमा मोटरबोट सञ्चालन नियमित हुन सकेको छैन ।
माछापालनका लागि ताल ठेक्कामा दिइएकाले मोटरबोट चलाउँदा माछा मर्ने भन्दै ठेकेदारले रोक लगाएको बताइएको छ ।
त्यस्तै, तालमा मरेका माछा तथा फोहोरका कारण दुर्गन्ध फैलिएको र पार्कमा निर्माण गरिएका केही बालबालिकाका खेल सामग्रीसमेत जीर्ण बन्दै गएको पर्यटकको गुनासो छ ।
निर्माणाधीन संरचनाको उचित व्यवस्थापन, सरसफाइ र सुरक्षा व्यवस्था गर्न स्थानीयले गाउँपालिकासँग माग गरेका छन् ।
ताल परिसरमा पार्क, प्रतीक्षालय, मठमन्दिर र शौचालयलगायत पूर्वाधार निर्माणका लागि गाउँपालिकाले २०८१ असारमा ७ करोड ८० लाख रुपैयाँभन्दा बढीको ठेक्का लगाएको छ ।
३६ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको परियोजनाले तालको पर्यटन विकासमा थप सहयोग पुग्ने विश्वास गरिएको छ ।
स्थानीयका अनुसार नाढीमन तालको प्राकृतिक तथा धार्मिक महत्वलाई संरक्षण गर्दै व्यवस्थित प्रचारप्रसार र पर्यटनमैत्री पूर्वाधार विकास गर्न सके यो क्षेत्र सर्लाहीको प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्छ ।


