जनकपुरधाम, २० भदौ । रसुवामा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि राहत सामग्री लिएर जनकपुरधामबाट एक टोली रसुवातर्फ प्रस्थान गरेको छ ।

विपद्को समयमा प्रभावित परिवारलाई तत्काल मानवीय सहयोग उपलब्ध गराउने उद्देश्यले एकता मुस्लिम संगठन र महोत्तरी मुस्लिम कमिटी संघको पहलमा राहत सामग्री संकलन गरिएको हो ।

संकलित सामग्रीसहितको टोली शनिबार जनकपुरधामबाट रसुवातर्फ प्रस्थान गरेको छ ।

राहत अभियानमा नेपाल तथा कतारमा रहेका विभिन्न व्यक्ति, संस्था र सामाजिक अभियन्ताहरूले सहयोग गरेका छन् । अभियानका क्रममा कतारस्थित इमरान ज्वेलर्ससहित विभिन्न सहयोगीले राहत सामग्री तथा आर्थिक सहयोग उपलब्ध गराएका थिए ।

कतारबाट जिलानी साफी, इन्जिनियर जाबिर अन्सारी, आशिक शेख, जैनुद्दीन अन्सारी, बसरुद्दीन अन्सारी, फुरकान अन्सारी र सद्दाम राइन अभियानमा सक्रिय रूपमा सहभागी भएका थिए ।

त्यस्तै, नेपालबाट हकीम राइन, जानी खान मधेशी, सलामत राइन, मुन्ना नेपाली, समिर सिद्दिकी, नजामुद्दिन हक तथा मुस्लिम युवा नागरिक समाजले राहत संकलन र व्यवस्थापनमा सहयोग गरेका छन् ।

संकलित राहत सामग्री बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई वितरण गरिनेछ । विपद्का कारण प्रभावित नागरिकलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउनुका साथै उद्धार तथा पुनर्स्थापनाका प्रयासमा समेत सहयोग पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो ।

अभियानले विपद्को समयमा समुदाय, क्षेत्र र धर्मभन्दा माथि उठेर मानवीय सहयोग र सामाजिक एकताको सन्देश दिन खोजेको आयोजकको भनाइ छ । ‘मानवता, भाइचारा र एकता’लाई अभियानको मूल भाव बनाइएको जनाइएको छ ।

राहत अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने दाता, शुभेच्छुक, व्यक्ति तथा संस्थाप्रति आयोजकले आभार व्यक्त गर्दै आगामी दिनमा पनि विपद् प्रभावित नागरिकका लागि सहयोग जुटाउन सबैलाई आग्रह गरेको छ ।