मैथिली साहित्य समाजको १५१औँ मासिक कविगोष्ठी सम्पन्न
जनकपुरधाम, २० भदौ । मैथिली साहित्य समाज जनकपुरधामद्वारा आयोजित १५१औँ मासिक कविगोष्ठी शनिबार जनकपुरधाममा सम्पन्न भएको छ ।
कृष्णाष्टमीको अवसर पारेर आयोजित कविगोष्ठीमा मैथिली भाषा, साहित्य, संस्कृति र सिर्जनाका विविध पक्षमाथि चर्चा गर्दै साहित्यकारहरूले आफ्ना रचना प्रस्तुत गरेका थिए ।
पुरानो मिनाप परिसरमा आयोजित कार्यक्रममा मैथिली साहित्यप्रेमी, साहित्यकार तथा स्रष्टाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागी कवि तथा स्रष्टाहरूले कविता, गीतलगायत विभिन्न साहित्यिक रचना प्रस्तुत गर्दै मैथिली भाषाको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणको आवश्यकतामाथि जोड दिएका थिए ।
कार्यक्रमका संयोजक काशीकान्त झा ‘रसिक’ले नियमित रूपमा हुँदै आएको मासिक कविगोष्ठीले मैथिली साहित्यमा निरन्तर सिर्जनाको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेलिरहेको बताए ।
उनले मैथिली साहित्य समाजले लामो समयदेखि मैथिली भाषा र साहित्यको विकासका लागि निरन्तर गतिविधि गर्दै आएको उल्लेख गर्दै मासिक कविगोष्ठीलाई नयाँ तथा पुराना स्रष्टाबीच सिर्जनात्मक संवादको माध्यमका रूपमा अघि बढाइएको बताए ।
झाका अनुसार साहित्यिक गतिविधिलाई निरन्तरता दिँदै नयाँ पुस्तालाई मैथिली भाषा र साहित्यसँग जोड्नु अहिलेको प्रमुख आवश्यकता हो ।
उनले भने, ‘मैथिली साहित्यको समृद्ध परम्परालाई जोगाउँदै नयाँ पुस्ताका स्रष्टालाई प्रोत्साहन गर्न यस्ता नियमित साहित्यिक कार्यक्रमले महत्वपूर्ण आधार तयार गर्छन् ।’
कृष्णाष्टमीकै दिन १५१औँ श्रृंखलासम्म आइपुग्नु कार्यक्रमको निरन्तरताका दृष्टिले पनि महत्वपूर्ण भएको आयोजकले जनाएको छ ।
मैथिली साहित्यमा नयाँ सिर्जनालाई प्रोत्साहन गर्ने तथा स्रष्टाहरूलाई आफ्ना रचना प्रस्तुत गर्ने अवसर प्रदान गर्ने उद्देश्यले मासिक कविगोष्ठी आयोजना हुँदै आएको छ ।
कार्यक्रममा मैथिली भाषा तथा साहित्यको वर्तमान अवस्था, सिर्जनाका नयाँ प्रवृत्ति र साहित्यिक गतिविधिलाई थप प्रभावकारी बनाउने विषयमा समेत विचार विमर्श गरिएको थियो ।













तस्बिरहरुः काशीकान्त झा ‘रसिक’


