जनकपुरधाम, २० भदौ । भोटेकोशी बाढीपछि श्रीमान् अयज सिंह सम्पर्कविहीन भएपछि पूजा साहका लागि बितेका ११ दिन मानौँ वर्षौँजस्ता बनेका छन् । हरेक दिन श्रीमान् फर्किने आशामा बाटो हेर्दै बसेकी पूजा अब प्रार्थनामा मात्रै अडिएकी छन् ।

सम्पर्कविहीन श्रीमानको अवस्था अज्ञात हुँदा परिवारमा पीडा र बेचैनी थपिँदै गएको छ । न श्रीमानको कुनै खबर आएको छ, न उहाँ कहाँ हुनुहुन्छ भन्ने जानकारी नै पाउन सकेकी छन् । यही अनिश्चितताबीच पूजाले शनिबार सामाजिक सञ्जाल फेसबुकमा आफ्नी छोरीको तस्बिर राख्दै मन छुने शब्दमा आफ्नो पीडा पोखिन् ।

‘बुढो, कति ढिला गरेको भगवान्,’ भन्दै उनले लेखेकी छन्, ‘जति कष्ट लेखिएको थियो, त्यो पनि भोगिसक्यौँ । न खानाको ठेगान छ, न पानीको, न कुनै खबर । यस्तो पीडा अब कति सहनु भगवान?’

पूजाका लागि जीवनमा श्रीमान् अयजभन्दा ठूलो अरू कुनै चाहना छैन । त्यसैले उनले भगवानसँग आफ्नो गल्ती वा पापको सजाय आफूलाई दिन आग्रह गर्दै श्रीमानलाई भने केही नहोस् भनेर प्रार्थना गरेकी छन् ।

‘मैले जिन्दगीमा बुढो बाहेक अरू केही मागेकी छैन,’ उनले लेखेकी छन्, ‘यदि मबाट कुनै गल्ती भएको छ, कुनै पाप गरेको छु भने त्यसको सजाय मलाई दिनु, तर मेरो बुढोलाई केही नहोस् भगवान् ।’

श्रीमानको प्रतीक्षामा रहेकी पूजाको पीडा अझ गहिरो बनाएको छ उनकी दुई महिनाकी छोरीले । आमाको अनुहारमा देखिएको पीडा बुझ्न नसक्ने उमेरकी छोरीले अझै बुबा कहाँ छन् भन्ने थाहा पाएकी छैनन् । त्यही निर्दोष बालिकाको तस्बिरसँगै पूजाले भगवानसँग श्रीमानलाई सकुशल फर्काइदिन याचना गरेकी छन् ।

‘मेरो बच्चाले त अहिलेसम्म केही बुझ्न पनि सकेको छैन । उसको के दोष छ र भगवान?’ उनले भावुक हुँदै लेखेकी छन्, ‘उसको लागि भए पनि मेरो बुढोलाई सकुशल, सुरक्षित र चाँडै हामीमाझ फर्काइदिनुहोस् ।’

बाढीले घर, परिवार र आफन्त छुट्याइरहँदा कतिपय परिवारका लागि उद्धार र राहतसँगै ‘आफ्नो मान्छे फर्किन्छ कि फर्किँदैन’ भन्ने अनिश्चितता सबैभन्दा ठूलो पीडा बनेको छ । पूजाका लागि पनि पछिल्ला ११ दिन यही अनिश्चितताको घडी बनेका छन् ।

हरेक फोनको घण्टीमा श्रीमानको खबर आएको आशा, हरेक समाचारमा उनको नाम वा अवस्थाको खोजी र हरेक साँझ सकिँदै जाँदा बढ्दै गएको चिन्ता—यही अवस्थाबीच पूजा अझै एउटै आशामा छिन् अयज फर्किनेछन्, आफ्नी छोरीलाई अंगालो हाल्नेछन् र परिवार फेरि पूरा हुनेछ ।