जनकपुरधाममा आइतबार ८ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने
जनकपुरधाम, २० भदौ । नेपाल विद्युत् प्राधिकरण जनकपुर वितरण केन्द्रले जनकपुरधामका विभिन्न क्षेत्रमा आइतबार विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको छ ।
प्राधिकरणका अनुसार जीर्ण अवस्थामा रहेका विद्युत् पोलहरू परिवर्तन गर्ने तथा विद्युत् लाइनमा छोएका रुखका हाँगाहरू काट्ने कार्यका लागि आइतबार बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् सेवा प्रभावित हुन सक्नेछ ।
उक्त अवधिमा सिटी–३ र रिङ फिडर अन्तर्गतका क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।
विद्युत् सेवा प्रभावित हुने प्रमुख क्षेत्रहरूमा मिल्स एरिया, कदमचोक, रेल्वे स्टेशन, कपिलेश्वर, महुवा, मालपोत कार्यालय आसपास, पिररिया माइस्थान, कुवा, रामपुर, लोहना, हनुमाननगर, प्रदेश सभा भवन, माछापालन क्षेत्र, विमानस्थल तथा धनौजी गाउँपालिका लगायत रहेका छन् ।
प्राधिकरणले निर्धारित समयभन्दा अगावै मर्मत तथा व्यवस्थापनको काम सम्पन्न भए विद्युत् आपूर्ति सोहीअनुसार पुनः सञ्चालन गरिने जनाएको छ ।
त्यस्तै, प्रतिकूल मौसम वा प्राविधिक कारणले निर्धारित समय परिवर्तन हुन सक्ने पनि सूचनामा उल्लेख छ ।
विद्युत् अवरुद्ध हुँदा पर्न जाने असुविधाप्रति नेपाल विद्युत् प्राधिकरण जनकपुर वितरण केन्द्रले उपभोक्तासँग क्षमायाचना गरेको छ ।


