महोत्तरी, २० भदौ । महोत्तरीमा भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरिएको ठूलो परिमाणको एप्पल एयरपोड्स सशस्त्र प्रहरीले बरामद गरेको छ ।

सोनमा गाउँपालिका–६ मगरथानाबाट शनिबार बिहान सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले करिब २ करोड ४० लाख रुपैयाँ मूल्य बराबरका १ हजार २ सय थान एयरपोड्स नियन्त्रणमा लिएको हो ।

भारततर्फबाट अवैध रूपमा सामान ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको टोलीलाई देखेपछि त्यसमा संलग्न व्यक्तिहरू सामान छाडेर फरार भएका थिए ।

सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण महोत्तरी, सीमा सुरक्षा गुल्म रघुनाथपुर तथा बोर्डर आउट पोस्ट खैरवनीबाट खटिएको संयुक्त टोलीले एयरपोड्स बरामद गरेको जनाइएको छ ।

बरामद सामान आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रहरीले फरार भएका व्यक्तिहरूको पहिचान तथा खोजीसमेत अघि बढाएको छ ।