पर्सा, २० भदौ । पर्सामा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।

पकहा मैनपुर गाउँपालिका–१ धोरेस्थित तिलाईपुल–भिष्वा सडकखण्डमा चेकजाँच गर्ने क्रममा प्रहरीले ११४ किलो २५ ग्राम गाँजा बरामद गरेको हो ।

शुक्रबार राति करिब ८ः४५ बजे प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको संयुक्त टोलीले तिलाईपुलबाट धोरेतर्फ आउँदै गरेको बा १८ च ३६५७ नम्बरको निशान कार रोकेर जाँच गरेको थियो ।

जाँचका क्रममा कारको पछाडिको डिकीमा प्लास्टिकको डोरीले बाँधेर राखिएका १२ वटा पोका फेला परेका थिए ।

ती पोकाभित्र प्लास्टिकसहित ११४ किलो २५ ग्राम गाँजा रहेको प्रहरीले जनाएको छ ।

गाँजा र कारसहित प्रहरीले धादिङको बेनिघाट रोराङ गाउँपालिका–८ का २१ वर्षीय साजन चेपाङलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका चेपाङमाथि लागुऔषध ओसारपसारसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।