जनकपुरधाम, १९ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि दिनहरू बित्दै जाँदा सम्पर्कविहीन आफन्तको खोजीमा रहेका मधेशका परिवारमा निराशा र चिन्ता बढ्दै गएको छ ।

बाढीमा आफन्त सम्पर्कविहीन भएको भन्दै प्रहरीमा जानकारी गराउने क्रमसमेत बढेको छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार शुक्रबार बिहान १० बजेसम्म रसुवा बाढीपछि सम्पर्कविहीन भएको भन्दै २२० जनाको विवरण दर्ता भएको छ । दुई दिनअघि यस्तो विवरण १९५ जनाको मात्र थियो ।

प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एसएसपी प्रभुप्रसाद ढकालका अनुसार सम्पर्कविहीन भनेर रिपोर्ट गरिएकामध्ये हालसम्म ३८ जना सम्पर्कमा आएका छन् भने दुई जनाको मृत्यु पुष्टि भएको छ ।

सप्तरी र बाराका एक–एक जनाको मृत्यु पुष्टि भएको हो । यसअनुसार मधेश प्रदेशबाट अझै १८० जना सम्पर्कविहीन रहेको प्रहरीको विवरण छ ।

जिल्लागत विवरणअनुसार सबैभन्दा बढी सप्तरीका ५२ जना सम्पर्कविहीन भएका छन् । तीमध्ये तीन जना सम्पर्कमा आएका छन् भने एक जनाको मृत्यु पुष्टि भएको छ । सप्तरीका ४८ जना अझै सम्पर्कविहीन छन् ।

त्यस्तै, पर्साका ४६ जनामध्ये तीन जना सम्पर्कमा आएका छन् भने ४३ जना अझै सम्पर्कविहीन छन् । बाराका ३० जनामध्ये चार जना सम्पर्कमा आएका, एक जनाको मृत्यु भएको र २५ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।

रौतहटका २० जनामध्ये ६ जना सम्पर्कमा आएका छन् भने १४ जना अझै सम्पर्कविहीन छन् । सर्लाहीका २७ जनामध्ये ६ जना सम्पर्कमा आए पनि २१ जनाको अवस्था अझै अज्ञात रहेको छ ।

यस्तै, महोत्तरीका १७ जनामध्ये सात जना सम्पर्कमा आएका र १० जना सम्पर्कविहीन छन् । धनुषाका १४ जनामध्ये सात जना सम्पर्कमा आएका छन् भने सात जना अझै सम्पर्कविहीन छन् ।

सिरहाका १४ जनामध्ये दुई जना सम्पर्कमा आएका छन् भने १२ जना अझै सम्पर्कविहीन रहेको प्रहरी प्रवक्ता ढकालले जानकारी दिए ।

प्रहरीका अनुसार सम्पर्कविहीनको यो विवरण सम्बन्धित परिवार तथा आफन्तजनले प्रहरीमा दिएको निवेदन र फोनमार्फत प्राप्त सूचनाका आधारमा तयार गरिएको हो ।

बाढीपछि आफन्तको अवस्था थाहा पाउन नसकेका परिवारले प्रहरीमा खोजीका लागि जानकारी गराउने क्रम जारी रहेकाले सम्पर्कविहीनको संख्या अझै बढ्न सक्ने देखिएको छ ।

रसुवा बाढीपछि लामो समयसम्म आफन्तको अवस्था अज्ञात रहँदा मधेशका विभिन्न जिल्लाका परिवारमा आफ्ना मान्छे सकुशल फर्किने आशा र अनिश्चितताको पीडा सँगसँगै बढिरहेको छ ।