रामायण सर्किटलाई रेलमार्गले जोड्ने तयारी
जनकपुरधाम, १९ भदौ । जनकपुरधामदेखि भारतको अयोध्यासम्म विशेष रेल सेवा सञ्चालन गर्ने विषयमा नेपाल र भारतका अधिकारीबीच पहिलो चरणको छलफल भएको छ ।
नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार भारतको जयनगरस्थित रेल्वे स्टेशनको विश्रामगृहमा नेपाल र भारतका रेल्वे कम्पनी, भन्सार, अध्यागमन तथा सुरक्षा निकायका अधिकारीबीच बैठक भएको हो ।
बैठकमा जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालनका लागि आवश्यक पूर्वतयारी तथा प्राविधिक र प्रशासनिक व्यवस्थापनबारे छलफल गरिएको जनाइएको छ । रेल लिङ्क, सिग्नलिङ प्रणाली, अध्यागमन प्रक्रिया, भन्सार चेकपोस्ट, यात्रु सुविधा तथा सुरक्षा व्यवस्थापन बैठकका प्रमुख विषय थिए ।
रेल सेवा सञ्चालनका क्रममा नेपालतर्फ नेपाली सुरक्षा निकाय र भारततर्फ भारतीय सुरक्षा निकायले यात्रु तथा रेल सुरक्षाको जिम्मेवारी लिने विषयमा सैद्धान्तिक सहमति समेत भएको प्रबन्ध सञ्चालक पराजुलीले जानकारी दिए ।
बैठकमा दुवै देशका रेल्वे सेवा, सुरक्षा, भन्सार तथा अध्यागमनसम्बन्धी अधिकारीहरूको सहभागिता थियो । छलफलपछि नेपाल र भारतका अधिकारीले जयनगर–जनकपुरधाम–कुर्था रेलखण्डको स्थलगत निरीक्षणसमेत गरेका थिए ।
जनकपुरधाम र अयोध्याबीच विशेष रेल सेवा सञ्चालनमा आएमा नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप सुदृढ हुनुका साथै धार्मिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।
नेपालको जनकपुरधामलाई माता सीताको जन्मभूमि तथा भारतको अयोध्यालाई भगवान् रामको जन्मभूमिका रूपमा लिइने भएकाले यी दुई धार्मिक शहरलाई प्रत्यक्ष रेल सेवामार्फत जोड्दा रामायण सर्किटअन्तर्गत तीर्थयात्री तथा धार्मिक पर्यटकको आवागमन थप सहज हुने विश्वास गरिएको छ ।
विशेष रेल सेवा सञ्चालनले धार्मिक पर्यटनसँगै दुवै देशका स्थानीय बजारमा आर्थिक गतिविधि बढाउन र पर्यटनसँग जोडिएका व्यवसायलाई समेत लाभ पुग्ने विश्वास गरिएको छ ।
हाल नेपालमा बिजलपुराबाट जनकपुरधाम हुँदै भारतको जयनगरसम्म नियमित रेल सेवा सञ्चालनमा छ । त्यसै रेल सञ्जाललाई थप विस्तार गर्दै जनकपुरधामलाई अयोध्यासँग जोड्ने तयारीले दुई महत्वपूर्ण धार्मिक गन्तव्यबीचको आवागमनलाई नयाँ आयाम दिने देखिएको छ ।


