रसुवा बाढीपीडितका लागि जनकपुरधामका व्यवसायीको हातेमालो
जनकपुरधाम, १९ भदौ । रसुवा बाढीबाट प्रभावित परिवारका लागि जनकपुरधाममा सञ्चालन गरिएको राहत संकलन अभियानमा स्थानीय व्यवसायी, महिला उद्यमी तथा विभिन्न संघसंस्थाले उल्लेख्य सहयोग गरेका छन् ।
जनकपुरधाम उद्योग वाणिज्य संघको अगुवाइमा सञ्चालन गरिएको अभियानमार्फत बाढीपीडितका लागि कपडा, खाद्यान्न, जुत्ता, मच्छरजाली, बालबालिकाका सामग्रीलगायतका राहत सामग्री संकलन गरिएको हो ।
अभियानमा रञ्जित प्लाइका सञ्चालक मोहन साह र विकास साहले १०० पिस ट्र्याकसुट उपलब्ध गराएका छन् । त्यस्तै, गोबरौरा–७ का पशुराम साहले बालबालिकाका फ्रक तथा लेडिज शल गरी ३० पिस सहयोग गरेका छन् ।
पवन रेडिमेडका सञ्चालक पवन गुप्ताले विभिन्न प्रकारका १०० पिस कपडा तथा सामग्री प्रदान गरेका छन् । महिला उद्यमीहरूको तर्फबाट रिंकु साह र सुनीता ठाकुरले मच्छरजाली, बालबालिकाका कपडा, फ्रुटी, बिस्कुट, सर्फलगायतका सामग्री सहयोग गरेका छन् ।
त्यसैगरी, डिनोभो फेसन वेयरका प्रोपराइटर मोहम्मद नैम शाफिले बालबालिकाका १२८ पिस सर्ट र ३ पिस ट्र्याकसुट उपलब्ध गराएका छन् । सिया कलेक्सनका प्रोपराइटर पप्पू साहले टी–सर्ट, बालबालिकाका कपडा, लेडिज जिन्स, ज्याकेट, कुर्तालगायत विभिन्न सामग्री दिएका छन् ।
सलीम सु सेन्टरका प्रोपराइटर पप्पू आलमले १०० पिस जुत्ता, शोभा रेडिमेडका हरि नारायण गुप्ताले जिन्स पेन्ट, भेस्ट तथा ज्याकेट गरी १०० पिस सामग्री सहयोग गरेका छन् ।
रेहान–कृष्णा, महावीर चोककी मञ्जु साहले खाद्यान्न, बालबालिकाका कपडा, साडी, जिन्स पेन्टलगायत करिब २० हजार रुपैयाँ बराबरको सामग्री उपलब्ध गराएकी छन् । कन्हैया साडी हाउसका प्रोपराइटर नागेन्द्र साहले ९० थान साडी सहयोग गरेका छन् ।
जानकी पथस्थित गोपाल खिलौना पसलका गोपाल रौनियारले बालबालिकाका फ्रक, लेडिज सूट, पुरुष शर्ट, बालबालिकाका भेस्ट, लेडिज टप तथा जिन्सलगायत विभिन्न सामग्री उपलब्ध गराएका छन् । उमेश एण्ड राकेश वस्त्रालयका सञ्चालक बदामी साहले २० थान साडी र २६ थान महिला सूट प्रदान गरेका छन् ।
यसैगरी, पुस्तक व्यवसायी संघ जनकपुरधामका अध्यक्ष प्रकाश धमला, निवर्तमान अध्यक्ष सरोज चौधरीलगायत पदाधिकारी तथा पुस्तक व्यवसायीहरूले १०१ थान ट्र्याकसुट सहयोग गरेका छन् । लक्ष्मी जनरल अर्डर सप्लायर्सका प्रोपराइटर बजरंग साहले १६ पिस रेडिमेड सुट, करिब १६ हजार रुपैयाँ बराबरको सामग्री उपलब्ध गराएका छन् ।
जनकपुरधाम उद्योग वाणिज्य संघका सचिव नरेन्द्र विक्रम साह (निरज) ले प्राप्त सहयोग राहत सामग्रीमा मात्र सीमित नरहेको बताए । उनका अनुसार विपद्को समयमा व्यवसायी तथा नागरिक समाजबाट प्राप्त सहयोगले सामाजिक उत्तरदायित्व र मानवीय एकताको भावना उजागर गरेको छ ।
सचिव साहले रसुवा बाढीपीडितको पीडामा साथ दिँदै राहत अभियानमा सहयोग गर्ने सम्पूर्ण व्यवसायी, महिला उद्यमी, संघसंस्था तथा व्यक्तिगत सहयोगदाताप्रति धन्यवाद व्यक्त गरेका छन् ।
उनले विपद्का बेला पीडित परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउनु सबैको साझा दायित्व भएको उल्लेख गर्दै सहयोगी हातहरूकै कारण राहत अभियानलाई थप प्रभावकारी बनाउन सकिएको बताए ।
रसुवा बाढीबाट प्रभावित परिवारसम्म राहत पुर्याउने उद्देश्यले संकलित सामग्री सम्बन्धित क्षेत्रका पीडितसम्म पुर्याउने तयारी भइरहेको जनाइएको छ ।













