जनकपुरधामका १५ राजगुठी पोखरी अतिक्रमणमुक्त गर्न ७ दिने अल्टिमेटम
जनकपुरधाम, १९ भदौ । जनकपुरधाम उपमहानगरपालिकाभित्र राजगुठीअन्तर्गत रहेका विभिन्न पोखरी तथा पोखरीका डिलमा गरिएको अतिक्रमण हटाउन गुठी संस्थानले सात दिनको समयसीमा दिएको छ ।
गुठी संस्थान शाखा कार्यालय जनकपुरधामले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीको डिलमा विभिन्न व्यक्ति तथा संस्थाले अनधिकृत रूपमा अतिक्रमण गरी संरचना निर्माण गरेर भोगचलन गरिरहेको जनाएको हो ।
संस्थानका अनुसार देवान पोखरी (चन्द्रकूप), मध्यमा सर, रुक्मिणी सर, विडाल सर (विराही), गेन्ही पोखरी, ठाडी पोखरी, लवकी पोखरी (रजौल), कपालमोचनी सर, पुरन्दर सर, लवकी पोखरी (जिरोमाइलभन्दा उत्तरपूर्व), लक्ष्मण सर (बलराम सर), पापमोचनी सर, अग्निकुण्ड, सीताकुण्ड र विहारकुण्ड लगायतका पोखरी तथा तिनका डिलमा अतिक्रमण भएको पाइएको छ ।
गुठी संस्थानले शुक्रबार प्रकाशित सूचनामार्फत सम्बन्धित व्यक्ति तथा संस्थालाई सात दिनभित्र त्यस्ता अनधिकृत संरचना तथा अतिक्रमण हटाउन निर्देशन दिएको छ ।
निर्धारित समयभित्र अतिक्रमण नहटाएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत संस्थानले दिएको छ ।
सूचना कार्यान्वयन गर्दै वास्तविक रूपमा अतिक्रमण हटाउने काम कसरी अघि बढ्छ भन्ने विषय भने चासोको रूपमा रहेको छ ।
गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ कार्यान्वयन समितिको निर्णयका आधारमा उक्त सूचना जारी गरिएको जनाइएको छ ।


